१६ चैत्र २०८०, शुक्रबार

ओलिकाे निर्देशनमा सुकुम्बासीकाे घर भत्काइ भ्युटावर निर्माण

 

झापाको दमकमा डोजरले घर भत्काएपछि त्रिपाल टाँगेर बसेका सुकुम्बासी । तस्बिरः पर्वत/कान्तिपुर
झापाको दमकमा डोजरले घर भत्काएपछि त्रिपाल टाँगेर बसेका सुकुम्बासी । तस्बिरः पर्वत/कान्तिपुर

दमक । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा एक अर्ब लगानीमा १८ तले भ्यु टावर निर्माणाधीन छ । यहाँ ७ तलाको सपिङ कम्प्लेक्स पनि बन्दै छ । ४० करोड लागतमा सपिङ कम्प्लेक्स बनाउने क्रममा वर्षौंदेखि बसिरहेका दर्जनभन्दा बढी सुकुम्बासी परिवारको भने बिचल्ली भएको छ ।

प्रधानमन्त्रीका नातेदार (भतिज) दमकका मेयर रोमनाथ ओलीको निर्देशनमा शुक्रबार सुकुम्बासीका घरमा डोजर चलाइएको थियो । करिब १० कट्ठा जमिनमा बस्दै आएका दमक–७ हाटखोलाका १२ घर र ४ कट्ठामा बस्दै आएका पञ्चमुखी टोलका ८ घर सुकुम्बासीको उठीबास भएको हो ।
केही सुकुम्बासी नगरपालिकाले विपन्नका लागि बसाएको नयाँ बस्तीमा आश्रित छन् । दमक–७ रतुवा खोला बगरको यो बस्तीमा बर्खामा सधैं बाढी पस्छ । कतिपय विस्थापित घर भत्काइएको क्षेत्रमै खुला आकाशमुनि छन् । शुक्रबार राति पनि उनीहरूले खुला आकाशमै रात गुजारे ।

‘सूचना नै नदिई घर भत्काइएको छ,’ पञ्चमुखी टोलबाट उठीबास लागेपछि बिचल्लीमा परेकी ठगकुमारी साउदेनले भनिन्, ‘हामीलाई प्रहरी कार्यालयमा बोलाएर हाम्रो अनुपस्थितिमा घर भत्काइयो ।’ उनका अनुसार घर सर्न केही दिन समय माग गर्दासमेत जनप्रतिनिधिले सुनेनन् । वडाध्यक्ष भीम पौडेलको घरनजिकै भए पनि सूचनासम्म नदिएको अर्की पीडित समिरा राईले बताइन् । क्षतिपूर्ति नदिएसम्म घर भत्काएको स्थानबाट आफूहरू अन्त नजाने उनको भनाइ छ ।
सुकुम्बासीहरू २०५७ सालदेखि यहाँ बस्दै आएका हुन् । हाटखोलाका सुकुम्बासीको भने तेस्रो पुस्ता चल्दै छ । स्थानीय चन्द्रबहादुर नेपालले २००७ सालदेखि हजुरबा यहाँ आएर बसेको दाबी गरे । ‘मेरा बुबा पनि यहीं जन्मे र बिते,’ उनले भने, ‘म पनि यहीं जन्मेर बूढो भइसकें ।’

नगरपालिकाले जमिन छाड्न दबाब र चेतावनी दिँदै आए पनि स्थानीयको प्रतिकारले रोकिएको थियो । शुक्रबार भने करिब ५ सय सुरक्षाकर्मी खटाएर सुकुम्बासीका घरमा डोजर लगाइएको थियो । ‘घर नभत्काइदिनुस् भनेर बिलौना गरें तर कसैले सुनेनन्,’ टीकामाया नेपालले भनिन्, ‘नगरपालिकाले यत्रो अन्याय किन गरेको होला ?’ घर भत्काइएपछि उनको रोजीरोटी खोसिएको छ । उनी नास्ता पसल चलाएर जीविका चलाउँथिन् । टीकामायाले भनिन्, ‘रतुवाको बगरमा बसिएको छ । अब कसरी जिन्दगी चलाउने, थाहा छैन ।’

एक वर्षअघि पनि यहाँका केही घरमा डोजर चलाइएको थियो । त्यतिखेर नगरपालिकाले सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गर्ने भने पनि कार्यान्वयन गरेन । दमकका मेयर रोमनाथ ओलीले नक्कली सुकुम्बासीहरूको घर भत्काइएको दाबी गरे । साभार-कान्तिपुर

धेरै कमेन्ट गरिएका

ताजा उपडेट