उधारो असुली कानुन तत्काल निर्माण गर्नुपर्ने रास्वपाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उधारो असुली कानुन तत्काल निर्माण गर्नुपर्ने माग गरेको छ। आइतबारको प्रतिनिधिसभामा बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबारलाई मर्यादित बनाउन उधारो असुली कानुन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
केही वर्ष अघि युवा व्यवसायी प्रेम आचार्यले उधारो असुली नहुँदा आफू ऋणमा डुबेको भन्दै आत्मदाह गरेको घटना उल्लेख गर्दै सांसद पराजुलीले तत्काल कानुन बनाउनुपर्ने बताए। साना र मझौला व्यवसायी उधारोको चपेटामा परिरहेको औंल्याए।
सांसद पराजुलीको भनाइः–
२०७९ माघ १० गते यही संसद् भवन अगाडि प्रेम आचार्यले आत्मदाह गरेको दर्दनाक र पीडादायी घटना हाम्रो मानसपटलमा बिझाइरहन्छ। त्यो अवसरमा पुग्नुमा कयौँ कारणमध्ये एउटा उधारो कारोबार असुली नहुनु हो । परिवारको छाक काटेर भए पनि किसानलाई मूल्य चुकाएर जोहो गरेको सामान ठूला र नाम कहलिएका घरानालाई आपूर्ति गर्दा उधारो कारोबार अभावका कारण पैसा असुली नहुँदा तिर्न नसक्ने गरी ऋणमा डुबेर डिप्रेसनको सिकार हुँदै आत्मदाह गर्नुपरेको पीडा उनले आफैले लेखेको सुसाइड नोटले व्यक्त गरेको तथ्य लुकेको छैन।
उधारो व्यवसायभित्रको श्रृंखला हो। तर यसलाई कानुनले नचिनेका कारण कारोबार डुबेर कयौं प्रेम आचार्यहरू आज पनि चुपचाप जीवन त्यागिरहेका होलान्।
ठूलो घराना र व्यवसायीले पहुँचका भरमा उधारो असुली गर्न सक्लान्। तर साना र मझौला व्यवसायीको पीडा कसले बोलिदिने सरकार ? त्यसकारण देशभित्र तथा अन्तर्राष्ट्रिय रुपमा गरिने कारोबारलाई मर्यादित बनाउन तत्काल उधारो असुली कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउँदछु। थाहा खबर