अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउन आवश्यक : मन्त्री गुरुङ

सेयर गर्नुहोस

काठमाडौँ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउन आवश्यक रहेको बताएका छन्।

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताए। यसले प्रेसलाई बदनाम गर्ने काम गरिरहेको उल्लेख गरे।

प्रेस स्वतन्त्रता बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रेस जगत्‌ले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे नागरिकलाई सुसूचित गर्नुपर्ने बताए।

मन्त्री गुरुङले भने, ‘जहाँ गणतन्त्र बलियो हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता बलियो हुन्छ। प्रेस स्वतन्त्रताले जनता र व्यवस्थालाई के दियो ? तर आज अनलाइनको माध्यमबाट जुन किसिमको अफवाह फैलाइरहेको छ। धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडिया प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ। यसले प्रेसलाई बदनाम गर्ने काम भइरहेको छ। त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो।’

मन्त्री गुरुङले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ले हिमाली क्षेत्र लोमान्थाङमा पुगेर जलवायु परिवर्तनले पारेको असरबारे समिटबाट प्राप्त सुझावले आफूहरूलाई यसबारेमा सोच्न दबाब पार्ने बताए। थाहा खबर

Facebook Comments Box