खाेप आपूर्ति सहज गर्न भारतसँग आग्रह

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौँ — कोभिड–१९ संक्रमणको दोस्रो लहर बढ्दै गइरहेका बेला नेपालले भारतलाई खोप आपूर्तिका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग टेलिफोन संवाद गर्दै खोप आपूर्ति सहज बनाउन आग्रह गरेका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षीलाई नेपालमा उच्च जोखिममा रहेका जनतालाई दोस्रो चरणको खोप दिइरहेको जनाउँदै कोभिड–१९ विरुद्ध लड्न भारत सरकारले खोप दिएकामा धन्यवाद दिएका थिए । जवाफमा जयशंकरले खोपको आपूर्तिलगायत महामारीविरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिए । ‘उहाँ (विदेशमन्त्री जयशंकर) ले कोरोना भाइरसको नियन्त्रणका लागि नेपालसँग सहकार्य गर्ने विषयमा भारत सकारात्मक रहेको बताउनुभयो,’ कान्तिपुरमा खबर छ ।

भारतले माघ ८ गते नेपाललाई उपहारस्वरूप १० लाख डोज खोप दिएको थियो । त्यसपछि नेपालले भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप खरिदको सम्झौता गरेको थियो । सम्झौताअनुसार १० लाख खोप आउन बाँकी छ ।

Facebook Comments Box