लोकप्रियभन्दा कार्यान्वयन हुने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

सेयर गर्नुहोस

काठमाडौँ : नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने काम मात्र समावेश गर्न सुझाव दिएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिएका हुन्। उनले हरेक पटक बजेट आयो, पुरानै कार्यक्रम राख्यो तर गर्न चाहिँ केही गर्न सकेन भन्ने खालका कार्यक्रम ल्याउने क्रम रोकिनुपर्नेमा जोड दिए।

सांसद चौधरीले जति बोलेको हो त्यति गर्ने गरी बजेट ल्याउनुपर्छ भन्दै हल्का र सस्तो लोकप्रियताका लागि बजेट ल्याउनुभन्दा शतप्रतिशत कार्यान्वयनमा जाने गरी ल्याउनुपर्ने स्पष्ट पारे। नीति तथा कार्यक्रममा प्रस्तुत भएका सबै कुरा बजेटमा समावेश गर्नुभन्दा छानेर आफ्नो क्षमता अनुकूलको बजेट बनाउनुपर्नेमा उनको जोड थियो।

उनले नीति तथा कार्यक्रममा समावेश भएका सबै कार्यक्रम समेट्नुपर्छ भन्दा पनि चुनिएका क्षेत्रमा ध्यान केन्द्रित गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिए।

चौधरीले भने, ‘अहिले यो बजेटमा गर्न सक्ने कुरा मात्र समावेश गर्ने र खर्च गर्नसक्ने क्षमतानुसारको बजेट बन्नुपर्छ। अहिलेसम्म विकासमा १९ प्रतिशतमात्र बजेट खर्च भएको छ। हाम्रो घट्दो राजस्व, हाइड्रोपावर बाहेक कुनैपनि क्षेत्रमा नयाँ लगानी भएको छैन। व्यापार संकुचित हुँदै छ। रोजगारी दिने उत्पादनमूलक क्षेत्र पाँच प्रतिशतभन्दा तल झरिसकेको अवस्था छ।’

उनले स-साना कुरा बजेटमा समेट्नुको कुनै अर्थ नहुने भएकाले हुनसक्ने काममात्र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए। थाहा खबर

Facebook Comments Box