बजेट प्रस्तुत गर्ने वेला गभर्नर नहुँदा नकारात्मक असर पर्छ : रामहरि खतिवडा
काठमाडौँ : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले बजेट प्रस्तुत गर्ने वेला नेपाल राष्ट्रबैंकका गभर्नर नियुक्त नहुँदा नकारात्मक असर पर्नसक्ने बताएका छन्।
बिहीवार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले निमित्त गभर्नरले समस्या खडा गरेको देखिएको बताए। उनले कसैको लहडका भरमा गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुनेमा जोड दिए।
उनले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा गभर्नर नियुक्तिमा ढिलाइ हुँदा समग्र अर्थतन्त्रमा समस्या उत्पन्न हुनसक्ने बताए। अर्थतन्त्रलाई कमजोर हुन नदिन सरकारले तत्काल गभर्नर नियुक्ति गनुपर्ने उनको भनाइ छ।
खतिवडाले भने, ‘अर्थतन्त्र झन् चलायमान छ, धितो बोर्डको व्यापक समाचार आएका छन्। आर्थिक रूपमा त्यो कमजोर भयो भने के हुन्छ? अहिले हामी वार्षिक बजेटमाथि छलफल गरिरहेका छौँ। बजेट अधिवेशनमा अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा गभर्नर नै नभएका वेला राष्ट्रबैंकमा भयो भने अर्को नकारात्मक असर पर्न सक्छ, त्यसैले गभर्नर छिटोभन्दा छिटो नियुक्ति गर्नुपर्छ।’
सांसद खतिवडाले कसैले गलत ढंगबाट सम्पत्ति आर्जन गरी विदेशमा राखेको छ भने त्यस्तो सम्पत्ति सरकारी कोषमा ल्याउने पद्धति विकास गर्नुपर्ने बताए। उनले अख्तियारले आर्थिक घोटाला लगायतका ठूला काण्डको छानबिनमा ढिलाइ गरेर साना काण्डमा छानबिन गरेर अख्तियारले राम्रो काम गरेको भन्ने भान पारिरहेको आरोप लगाए।
सांसद खतिवडाले नीति तथा कार्यक्रम नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त कार्यक्रम भएकाले काँग्रेसले समर्थन गर्ने बताए। थाहा खबर
