माओवादी मधेश जागरण अभियान : यथार्थको कसीमा कति उपलब्धिमूलक ?
काठमाडौँ : प्रतिपक्षमा धकेलिएसँगै आफ्नो वर्गतिर फर्किएको घोषणा गरेको नेकपा (माओवादी केन्द्र)ले तराई–मधेश केन्द्रित अभियान केही दिनअघि सम्पन्न गरेको छ। शान्तिपूर्ण राजनीतिक यात्राको अधिकांश समय सत्ताकै वरिपरि बिताएको माओवादीले गत असारमा प्रतिपक्षमा पुगेसँगै सच्चिने र जनतासँग जोडिने नीति लिएको थियो।
२०८१ पुस तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकबाटै माओवादीले विगतका कमजोरी सच्याउँदै जनतासँग जोडिने घोषणा गरेको थियो। सोही अनुसार १२ फागुन ०८१ देखि सुरु भएको हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ साढे दुई महिना चलेको थियो।
माओवादीले अभियानको समीक्षा गर्दै अत्यन्तै उपलब्धिमूलक भएको दाबी गरेको छ। यही वैशाख २१ गते बसेको पदाधिकारी बैठकले अभियान सोचेभन्दा बढी उपलब्धिमूलक बनेको निष्कर्ष निकालेको हो।
मधेश जागरण अभियान समाजवादी विचारधाराको प्रस्थानविन्दु बनेको, राष्ट्रिय एकता सुदृढ गरेको, नयाँ संस्कार संस्कृति र सभ्यताको प्रादुर्भाव भएको, पार्टी र नेतृत्वप्रति सकारात्मक राग जरैसम्म पैदा भएको, माओवादीलाई विचारमा मात्र होइन वास्तविक अर्थमा जनतामा स्थापित गरेको र पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याएको दाबी माओवादीको छ।
अभियानले माओवादीप्रति जनताको आकर्षण ह्वात्तै बढाएको दाबी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि सबैजसो माओवादी नेताहरूले गर्दै आएका छन्। अब कसैको बैसाखी नटेकी आगामी २०८४ को आमनिर्वाचनमा पहिलो शक्ति बन्नेसम्मको दाबी माओवादी नेताहरू छ।
मधेश जागरण अभियानबाटै उत्साहित भएको माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी जागरण अभियान पनि घोषणा गरिसकेको छ। आगामी जेठ २ गतेबाट उक्त अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ।
यथार्थमा कति उपलब्धिमूलक ?
सडकमा हुँदा मधेशको मुद्दा उठाए पनि सत्तामा पुगेपछि बिर्सेको भन्दै माओवादीसँग मधेश त्यति खुसी छैन। जसको प्रभाव निर्वाचन नतिजामा पनि देखिँदै आएको छ।
यो स्वयं माओवादी नेताहरू पनि स्विकार्छन्। अब भने विगतका कमी कमजोरी सच्याउने दिशमा अघि बढेकाले सिंगो मधेश नै माओवादीमय भएको र आगामी निर्वाचनमा नतिजा पनि राम्रै हात पर्ने नेताहरूको दाबी छ।
के साँच्चिकै जागरण अभियानसँगै माओवादीप्रति मधेशको आकर्षण बढेको हो ? वा आगामी दिनमा मधेश माओवादीमय बन्ला ?
राजनीतिक विश्लेषक चन्द्रकिशोर चिया–चटपटे खाँदै मर्निङ वाक गर्दैमा मधेशी जनताको मन र मत तान्न असम्भव ठान्छन्। मधेशका जनता आफूहरूका लागि कुर्बान गर्न सक्ने नेताको खोजीमा रहेको उनको बुझाइ छ।
‘माओवादीको मधेश यात्राको प्रभाव म चाहिँ केही देख्दिनँ । चिया–चटपटे खाएर मर्निङ वाक गरेर मधेशको मन भुल्ने भए त भइहाल्थ्यो नि !’, उनी भन्छन्, ‘मधेशका जनता यति सोझा छैनन्। आउने–जाने सबैमाथि नजर राख्छन्, राखिरहेका छन्। कसले साँच्चिकै मसँग लभ परेर मेरो निम्ति कुर्बान गर्न सक्छ? कसले लभ परेको भनेर भोट ल्याएर सत्ता ताकिरहेका छन्। सबै बुझिरहेका छन् ।’
संविधानको विषयमा मधेशमाथि गोली प्रहार हुँदै गर्दा संविधानसभामा ठोकेको तालीको जवाफ माओवादीसँग माग्ने, माओवादी संरचनाभित्र मधेशी अनुहार कहाँ र कति छन् भनेर खोज्ने विश्लेषक चन्द्रकिशोर बताउँछन्।
‘२०७२ को संविधान बन्दा मधेशमाथि गोली प्रहार हुँदै गर्दा जसरी संविधानसभाभित्र माओवादीले थपडी बजाइरहेको थियो, त्यसको जवाफ खोज्छन्। माओवादी संरचनाभित्र मधेशी अनुहार कहाँ छन्, कति छन्, कति नम्बरमा छन् ? त्यो खोज्छन् मधेशी जनताले’, उनी भन्छन्, ‘ती कुरा नसच्याएम्म जुनसुकै राजमार्ग घुमे पनि अर्थ छैन।’
अर्का विश्लेषक सुरेन्द्र लाभ पनि माओवादीले दाबी गरेजस्तो मधेश माओवादीमय नभएको र नहुने औंल्याउँछन्। ‘भन्ने त माओवादीको काम हो । उसले मात्रै होइन, अन्य जुनसुकै पार्टीले भन्छन् । त्यो एउटा मनोवैज्ञानिक युद्ध हो’, उनी भन्छन्, ‘तर माओवादीले भनेजस्तो मधेश माओवादीमय भइहाल्ने अवस्था बनेको छैन। हिजो मधेश जहाँ थियो, अहिले पनि त्यहीँ छ।’
यद्यपि माओवादीको मधेश जागरण अभियानले आफ्नै कार्यकर्तामा हराइसकेको ऊर्जा पुनर्जागृत भने गरेको विश्लेषक लाभ ठान्छन्। ‘माओवादीले मधेश जागरण यात्रामा केही नपाएको भने होइन। उसले आफ्नै कार्यकर्ताहरूमा हराइसकेको ऊर्जा पुनर्जागृत चाहिँ गर्यो। कार्यकर्तालाई जोड्न सक्यो, सम्बन्ध–सम्पर्क पुनःस्थापित गर्यो । त्यत्ति हो । तर आमरूपमा नै माओवादीमय भयो भन्ने भाष्य सत्य होइन।’
माओवादीले ०८४ को आमनिर्वाचनमा एक्लै लडेर बहुमत ल्याउने दाबी गरिरहँदा त्यो सम्भावना पनि विश्लेषक लाभ देख्दैनन्। मधेश मात्र नभई सिंगो देश विकल्पको खोजीमा रहेकाले कसको पक्षमा कस्तो नतिजा आउँछ भन्न कठिन हुने उनी बताउँछन्।
उनी भन्छन्, ‘०८४ त हेर्न बाँकी छ। त्यस वेलासम्म पार्टीहरूको वस्तुस्थितिमा परिवर्तन हुन सक्छ । किनभने अहिले मधेश मात्र होइन, पूरै देश विकल्पको खोजीमै छ।’ थाहा खबर
