भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पति फिर्ता ल्याउन सरकारले सहयोग गरेन : अख्तियार प्रमुख राई
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन्। भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको उनको भनाइ छ।
उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पति फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गरे। यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन भए पनि द्रुत गतिमा काम नगरेको उनको गुनासो छ।
उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गरे। उनले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनि दबाब नआएको बताए। उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गरे। उनले सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा नियन्त्रणमा कायापलट गरेको समेत दाबी गरे।
भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको समेत प्रमुख आयुक्त राईको भनाइ छ।
प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरे। उनले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गरे। थाहा खबर
