सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताएका छन्।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको औचित्य नभएको समेत बताए।
उनले विगतको सरकारले नीति तथा कार्यक्रममाथि छलफल गराउँदा नेपाली जनताको भावनालाई बुझेर गराउने गरे पनि वर्तमान सरकारले त्यसो गर्न नसकेको आरोप लगाए। उनले अहिलेको सरकारले ल्याएको नीति विभेदकारी भएको समेत टिप्पणी गरे। उनले विभिन्न आधारहरू तय गर्न नसक्दा समाजवादको यात्रालाई कसरी अगाडि बढाउन सकिन्छ ? भन्दै प्रश्न गरे। अध्यक्ष यादवले वर्तमान सरकार अप्राकृतिक र बिचौलियाको आधारमा बनेको आरोप दोहोर्याए।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको टिप्पणी समेत गरे। थाहा खबर
