विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन : अख्तियार प्रमुख राई
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन्। भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेको उनको भनाइ छ।
उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रह गरे। यस सम्बन्धमा काम गर्न कार्यदल गठन भए पनि द्रुत गतिमा काम नगरेको उनको गुनासो छ। उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गरे।
उनले आफूले कार्यकाल सम्हालेपछि कुनैपनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु र नचलाउनु भनी दबाब नआएको बताए। उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठूलो पहुँच भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गरे।
राईले भने, ‘कुनैपनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन। सुशासन कायम गर्नुपर्छ भनिरहेकै अवस्था हो। ठूला माछालाई लगेन भन्ने कुरा ५-१० वर्षदेखि चलिराखेको छ। तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के ? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौं जस्तो लाग्छ। हामीले अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन। यसमा तपाईंहरूले सहयोग गर्नुपर्यो। सिंगापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारका तर्फबाट काम अगाडि बढेन। कार्यदल बनाए पनि काम भइरहेको छैन।’
प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्ताराष्ट्रियकरण भइसकेको उल्लेख गरे। उनले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गरे। थाहा खबर
