‘सरकार ढल्छ भन्ने बित्तिकै किन सत्तापक्षको मुटु काँप्छ ?’
काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकार ढल्छ भन्ने बित्तिकै सत्तापक्षलाई रिंगना लाग्ने र मुटु काँप्ने गरेको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सत्तापक्ष कमजोरी लुकाउन लागिपरेको आरोप पनि लगाए।
‘राम्रो काम गर्नु लोकप्रियता कमाउनुको साटो आफ्नो कमजोरी र अक्षमता ढाकछोप गर्न सरकारले सबै समय प्रतिपक्ष दलको नेतृत्व र दलको गालीमा खर्चिएको छ’, सांसद शाहीले भने, ‘सरकार ढल्यो भन्ने बित्तिकै सत्तापक्षलाई किन रिँगटा लाग्छ ? किन मुटु थरथरी काँप्छ ? राम्रो काम गरे भइहाल्यो नि !’
सांसद शाहीले कसैले बोलेमा सरकार ढलिहाल्ने भनेर डराउन आवश्यक नभएको बताउँदै सत्ता साझेदारबीच विमतिका विषयहरू भने छर्लङ्ग देखिएको बताए। उनले प्रश्न गरे, ‘सत्ता साझेदार दलभित्रै संसद्भित्रै, भर्खरै पनि किन घोचपेच ? यसबाट जनताले के बुझ्ने ? अनि आरोप प्रतिपक्षलाई ?’ थाहा खबर
