निरंकुशतातिर बढिरहेको यो सरकारको विकल्प खोज्नुपर्छ : नेता पाैडेल

सेयर गर्नुहोस

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरंकुशतातिर बढिरहेकोले विकल्प खोज्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले संसद्को रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग गर्‍यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने उनले बताए । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने बताए । उनले भने, ‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा खेरीमा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍यो कि गरेन, कसरी गर्‍यो यसको पनि लेखाजोखा इतिहासमा हुने छ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव, चुनाव मात्रै भनेर सुख पाइँदैन । हामीले यो अहिलेको निरंकुशतातिर बढिरहेको यो सत्तालाई विकल्प खोजी गर्नुपर्छ । विकल्पको लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरु पार्टीहरुसँग मिलेर हामीले बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्छ ।’

नेता पौडेलले विगतमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रूनुको विकल्प नहुने पनि बताए । त्यसैले चुनाव,चुनाव भनेर बस्न नहुने बताए । उनले भने, ‘अब एउटा चान्स त हामीले अस्ति नै मिस गरिसकेका छौं । जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन् त्यो बेलामा जोखना हेर्दाहेर्दै एउटा चान्स मिस भएको छ । यति मात्रै भन्छु । जोखना फेरि पनि हेरेर यो चान्स मिस गर्ने अनि पछि टाउको समातेर रूने यो कुरा हुँदैन । चुनाव चुनाव, चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो हाम्रा साथीहरुको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’

पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताए । अहिलेको सरकरको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनको लागि कांग्रेसले आफूलाई बचाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ । चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पुर्‍याउँछ । आज हामीले एउटै कुरा सोचौं कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनको लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्‌मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भर्‍याङ चढ्न खोजेको पुष्टि भएको पनि उनले बताए । कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने उनले बताए । व्यवस्था बचेमा मात्रै सत्ता आफै आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने उनको भनाइ थियो ।कान्तिपुर

Facebook Comments Box