सरकार-थरुहट संघर्ष समिति वार्ता : मुद्दा फिर्ताबारे अध्ययन गर्न सरकारले माग्यो समय

सेयर गर्नुहोस


काठमाडौं । सरकार र थरुहट संघर्ष समितिबीच सोमबार पहिलो चरणको वार्ता भएको छ । गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।

वार्तामा थरुहट संघर्ष समितिले टीकापुर घटनालाई आपराधिक घटना नभई राजनीतिक घटनाको रुपमा हेर्न आग्रह गरेको थियो । सरकारले भने यसबारेमा थप अध्‍ययन गर्नुपर्ने भन्दै समय मागेको संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले बताइन् ।
२०७२ भदौमा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित नेताहरु जेलमा छन् ।
‘पहिलो चरणको वार्ता सकारात्मक भयो, हामीले टीकापुरको घटनालाई जबरजस्ती आतंककारीको बिल्ला नभिराउन आग्रह गर्‍यौं । उहाँहरुले अध्‍ययन गर्छौ भन्‍नुभएको छ’ उनले अनलाइनखबरसँग भनिन् ।
सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले थरुहट संघर्ष समितिको माग सकारात्मक रहे पनि अदालतमा गइसकेको मुद्दामा निर्णय गर्न गाह्रो हुने बताए ।
‘उहाँहरुको कतिपय माग र मुद्दामा सरकार सकारात्मक छ । संविधान र कानूनले दिए बमोजिम सरकार त्‍यस विषयमा सकारात्मक भएको छ । तर कतिपय मागहरु अदालतमा गइसकेको विषय भएकाले सरकारले बोल्न मिल्दैन । अर्को वार्तामा यस विषयमा छलफल गर्छौ’ उनले भने ।

अब दोस्रो चरणको वार्ता कहिले हुने टुंगो छैन । दोस्रो चरणको वार्ताको तयारीका लागि थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समितिको बैठक बसिरहेको वार्ता टोलीका संयोजक रुक्मिणी चौधरीले बताइन् ।

संघर्ष समितिले वार्तामा थारु समुदायलाई संविधानले व्‍यवस्था गरेको अधिकार र सर्वोच्च अदालतले गरेको फैसला अनसार सुविधा दिनुपर्ने माग पनि राखेको छ । चौधरीले भनिन्, ‘ सर्वोच्च अदालतले २०७४ कात्तिक १४ गते सरकार, लोकसेवा आयोग र सम्पूर्ण सरकारी निकायलाई थारु कोटा दिनू भनेर फैसला गरे पनि लागू भएको छैन । हामीले सरकारी वार्ता टोलीलाई त्‍यो फैसलाको प्रति पनि बुझाएका छौं ।’
गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य रहेका छन् ।
थरुहट संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी वार्ता टोलीमा छन् ।

साभार: अनलाइनखबर

Facebook Comments Box