१३ बैशाख २०८१, बिहीबार

चिनियाँ नाका असहज , आयोजनाका काम अलपत्र

फाइल तस्बिर

काठमाडौं । वर्षदिनभन्दा लामो समयदेखि चिनियाँ नाकाहरूबाट हुने आपूर्ति सहज नभैदिँदा विभिन्न विकास निर्माणका आयोजना प्रभावित भएका छन्।

चीनबाट आउनुपर्ने समानहरू एक वर्षभन्दा लामो समयदेखि नाकापारि रोकिएपछि थुप्रै निर्माणाधीन योजनाको काम प्रभावित भएको आयोजनाहरूले जनाएका छन् ।
नेपाल विद्युत प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बद्ध तथा निजी क्षेत्रका विभिन्न आयोजनाहरूमा चीनबाट ल्याउनुपर्ने यन्त्र, उपकरण, निर्माण सामग्रीहरू नाका र आसपासका गोदाममा ल्याइपुर्‍याएर रोकिएका छन् ।

अधिकांश आयोजनाका सामानहरू एक वर्षभन्दा बढी समयदेखि तातोपानी र केरुङ नाकाहरूमा अड्किएको आयोजनाहरूले बताएका छन् ।चीनले अहिले रसुवागढी र तातोपानी नाकाबाट दैनिक ४ देखि ५ कन्टेनर समान मात्रै नेपालको भू-भागमा ल्याएर झारिदिने गरेको छ ।
लत्ताकपडा, खाद्यान्न, फलफूल र दैनिक उपभोग्य वस्तुलाई प्रथमिकता दिएर भन्सार जाँचपास गराउन नेपालले चीनलाई आग्रह गरेको छ ।
त्यसअनुसार आयोजनाका सामान दोस्रो प्राथमिकतामा परेकाले सीमित दरमा मात्रै भन्सार जाँचपास हुँदा धेरै आयोजनाहरूको उपकरण चीनकै सीमानाका र विभिन्न गोदामहरूमा थन्किन पुगेका छन् ।

नेपाल सरकारले पटक-पटक नाकालाई नियमित रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेपनि नेपालमा महामारीको जोखिम अझै पनि उच्च रहेको भन्दै चीन सरकार तयार भएको छैन ।

विगतमा नेपाली कन्टेनरहरू नै चीनको बन्दरगाहसम्म पुगेर समान लोड गरेर फर्किन्थे । यसले गर्दा चीनलाई मागअनुसार सामान छुटाउन कुनै झन्झट थिएन ।

तर, अहिले चीन आफैंले लोड गरेर नाकामा ल्याएर खसालिदिने गरी स्वास्थ्य प्रोटोकल लागू छ ।

चिनियाँ भन्सार अधिकारीहरूले दैनिक उपभोग्य बाहेकका ठूला यन्त्र उपकरण छुटाउने विषयलाई महत्व नदिएकाले समस्या आएको नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरू सान्जेन, माथिल्लो सान्जेन, त्रिशुली थ्री बीले जनाएका छन् ।

नाकाहरूमा सामान अडि्कने समस्या परेपछि उक्त आयोजनाहरुले कतिपय उपकरण चीनस्थित कम्पनीहरूबाटै नाकातर्फ समान ल्याएका छैनन् । नाकालाई सामान्य रुपमा सञ्चालक गर्न चीन तयार नभएसम्म समस्या रहिरहने उनीहरूको भनाइ छ ।

सान्जेन लगायतका आयोजनाले उपकरण आयातमा परेको अप्ठेरोबारे ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, ल्हासाको नेपाली महावाणिज्य दूतावासलगायत सबैतिर जानकारी गराएपनि समस्या समाधान नभएको आयोजनाहरूको गुनासो छ ।

सान्जेनलाई सास्ती

सान्जेन जलविद्युत कम्पनीमार्फत रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजनाको समान करिब एक वर्षदेखि ल्हासामा आएर अडि्कएको छ ।
यो आयोजना सुरुको लक्ष्यअनुसार तीन वर्षअघि नै सकिनुपर्ने हो । अहिले ठेकदारले कोभिडसँगै चीनबाट यन्त्र उपकारणको आयात हुन नसकेको अवस्था दर्शाउँदै काम अघि बढाएको छैन ।
करिब ७० ट्रक सामान नाकामा एक वर्षदेखि अडि्करहेको सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
‘केही हप्ताअघि पाँच ट्रक सामान आयो’, उनी भन्छन्, ‘अझै ठूलो परिमाणमा उपकरणहरू आउन बाँकी छ । नाकामै रोकिएको अवस्था छ ।’
दुईवटै आयोजनाको करिब ४० प्रतिशत सामान आयात भएपछि गत वर्ष कोरोनाको कारण चीनले सीमा बन्द गरेको थियो ।
सान्जेनका आयोजनाहरूमा सिभिलतर्फको काम सुस्त गतिमा भइरहेपनि इलेक्ट्रोमेकानिकलतर्फको काम सुरु नै हुन सकेको छैन । दुबै आयोजनामा विद्युत निकाल्ने टर्वाइनसहित विद्युतीय यन्त्र उपकरण जोड्ने ठेक्का पाएको चिनियाँ कम्पनी डोनफ्याङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन समान आएपछि काम थाल्ने भनेर अहिले काम नगरी बसेको छ ।

माथिल्लो सान्जेनमा ९७ प्रतिशत र सान्जेन जलविद्युतमा ८१ प्रतिशत भौतिक प्रगति भएपनि इलेक्ट्रोमेकानिकल उपकरणको आयात नै अनिश्चित भएपछि आयोजनाहरूमा काम प्रभावित भएको सीईओ श्रेष्ठले बताए ।

त्रिशुली ‘थ्री बी’ ठप्प

माथिल्लो त्रिशुली ‘थ्री बी’ जलविद्युत आयोजनाको सामान पनि चीनकै नाकाहरूमा आएर रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तरगत २० कित्ता सेयर किनेको यो आयोजनाको निर्माणको काम ठेकेदारका प्रतिनिधि र आयात गर्नुपर्ने उपकरण नआएपछि १४ महिनादेखि ठप्प छ ।
२०७७ माघमा नयाँ वर्ष मनाउन चिनियाँ प्राविधिक घर फर्किएपछि महामारी सुरु भएसँगै चीनबाट आउने उपकरणहरू पनि उतै रोकिएको थियो ।

त्रिशुली जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक मोहन गौतमका अनुसार आयात भइसक्नुपर्ने निर्माण सामग्री तथा उपकरण अहिले पनि चीनमै रोकिएका छन् ।
स्टिल फ्रेमवर्क्स, वाटरस्टप्स, पम्पहरू, सिमेन्ट स्प्रे गर्ने मेसिन, हाइड्रोलिक डि्रल मेसिन, डिजेल जेनेरेटर, कन्भेयर बेल्ट्स र अरु स्पेयर पार्टस्हरू नाकामा रोकिएका हुन् ।
हालसालै चनियाँ ठेकदार कम्पनीका प्रतिनिधि साइटमा फर्किएपनि समान नआएको काम सुरु गरिहाल्न सकस परेको छ ।
‘करिब एक सय टन सामान नाकामा छ, कति समान त क्रेन लगाएर मात्रै लोड गर्न सकिन्छ’, गौतमले भने, ‘सामान छिटो आयो भने अधुरो रहेको काम छिटो सुरु गर्न सकिन्थ्यो ।’
४७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको निर्माण चिनियाँ कम्पनी स्विफा एएनएचई ग्रुप कर्पोरेसनले निर्माण उपकरण नल्याइ काममा गति दिन असहज भएको बताएको छ ।
यो आयोजनामा महामारीपछि अझै काम सुरु नभएकाले निर्माण सकिने मिति अनिश्चित छ । ८ अर्ब २२ करोड लागतमा सक्ने लक्ष्य राखिएको यो आयोजना समयमै नसकिए पनि इपीसी मोडलमा भएकाले लागत भने नबढ्ने गौतमले बताए ।

निजी आयोजना पनि प्रभावित

प्राधिकरणका आयोजनाहरूसँगै निजी ऊर्जा उत्पादक कम्पनीले बनाइरहेका आयोजनालाई पनि चिनियाँ नाकाबाट हुने सुस्त आपूर्तिले पिरोलेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष कृष्ण आचार्य चीनतर्फका नाकाबाट भन्सार जाँचपास ढिलो हुँदा धेरै आयोजना प्रभावित भइरहेको बताउँछन् ।
‘चीनको स्थलमार्ग भएर मगाउनुपर्ने यन्त्र, उपकरण र निर्माण सामग्री अहिले कोलकता भएर ल्याउनु परेको छ’, उनले भने, ‘कतिपय कम्पनीले त अहिले सामान नै नल्याउने निर्णय गरेर बसेका छन् ।’
चिनियाँ ठेकदार र निर्माण कम्पनीको जिम्मा रहेका निजीस्तरका जलविद्युत् आयोजनामा चिनियाँ प्रविधि र प्राविधिक दुबै नआउँदा समस्या भएको आचार्यले बताए ।
नाकाहरूलाई सहज बनाउन सरकारी पहल नपुगेको भन्दै उनले स्थलमार्ग भएर छिटो र सस्तो लगतमा ल्याउन सकिने सामानको आपूर्ति महँगो र ढिलो हुन पुगेको आचार्यको गुनासो छ ।

विमानस्थलको सामान पनि रोकिए

जलविद्युत आयोजनाको मात्रै हैन, विमानस्थल आयोजनाको सामान पनि रसुवागढीमा अडि्कएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारी भैरहवा विमानस्थलको केही उपकरण चिनियाँ नाकामा अडि्करहेको बताउँछन् । सामान नाकामै रोकिँदा आयोजनाको काम समयमै सक्न केही बाधा पुगेको उनले बताए ।
प्राधिकरणका अनुसार एयर कन्डिसनर, फ्लोड लाइट र एक्स-रेलगायतका सुरक्षा उपकरणहरू रसुवागढी नाकामा रोकिएका छन् ।
रोकिएका सामान क्रमैसँग छुटाउने आश्वासन पाएपनि कार्यान्वयन नहुँदा अन्तिम चरणमा पुगेको यो आयोजनालाई समस्या परेको छ ।

जानकारी छैन : रसुवागढी भन्सार

रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी भने आयोजनाहरूको सामान नाकामा अडि्कएकोबारे कार्यालयलाई जानकारी नभएको बताउँछन् ।
‘चिनियाँ पक्षले केरुङको गोदाममा अडि्कएका समान सबै जाँचपास भएको जानकारी दिएको छ’, उनले भने, ‘कतिपय जलविद्युत आयोजनाको सामान अहिले पनि दैनिक रुपमा भित्रिरहेको छ ।’
उनका अनुसार अहिले चिनियाँ पक्षले ल्हासाबाट आएका कन्टेनरलाई सिधै रसुवागढीमा ल्याइरहेको छ । आयोजनाहरूका सामान अडि्कएकोबारे पछिल्लो समयमा कुनै निकायले आफूहरूसँग पत्राचार र समन्वय नगरेको उनले बताए ।
‘हामीसँग समन्वय भएर रोकिएका सामान छिटो ल्याउन पहल छर्न तयार छौं’, उनले भने ।  साभार : अनलाइन खबर

धेरै कमेन्ट गरिएका

ताजा उपडेट