शिक्षामन्त्रीको राजीनामा र गभर्नरको विषयले सरकारलाई समस्या हुन्न : गृहमन्त्री लेखक
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्।
नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गरे।
“सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ। फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ। आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञाशामा उनले भने।
गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । उहाँले कानुनी र नीतिगत सुधारलाई पनि आफूले सँगसँगै अघि बढाइरहेको बताए। थाहा खबर
