कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छ : सांसद थानी

सेयर गर्नुहोस

काठमाडौँ : नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्ने बताएका छन्।

बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले यस्तो बताएका हुन्। उनले अवकाशलगत्तै कर्मचारीहरू संवैधानिक र राजनीतिक नियुक्ति लिएर स्वार्थको खेल खेल्ने प्रवृत्ति कर्मचारीहरूमा हावी भएको भन्दै यसलाई रोक्न पनि कम्तिमा दुई वर्ष कुलिङ पिरियड राख्नैपर्ने जिकिर गरे।

उनले कुलिङ पिरियड नराख्दा समय समयमा सरकार परिवर्तन हुँदा त्यसको प्रभाव स्थायी सरकारमा समेत पर्ने गरेको बताए। उनले ट्रेड युनियनहरूले विधेयकको लागि ७२ घण्टे अल्टिमेटम दिएको उल्लेख गर्दै नासुको विषयमा समेत सहमति गर्नुपर्ने बताए। मंगलवारको बैठकमा दलगत ट्रेड युनियनका प्रतिनिधिहरूले पाँच वर्ष काम गरेका नायब सुब्बालाई एक तह र १० वर्ष काम गरेकाहरूलाई एक श्रेणी बढुवा गर्ने व्यवस्था गर्न माग गरेका थिए।

सांसद थानीले भने, ‘नासुका आँसुमा भन्ने कुरामा ट्रेड युनियनहरूले भन्नुभएको छ। भोलि स्थायी सरकार सडकमा नउत्रियोस्। कुलिङ पिरियड दुई वर्ष हुनुपर्छ। नियुक्ति गर्ने कुरामा हामीले कुलिङ पिरियड राख्नैपर्छ। कर्मचारीलाई कुन दलको र कुन नेताको भन्ने कुरा अन्त्य गर्न पजि कुलिङ पिरियड अनिवार्य छ। कानून र कूटनीति सेवामा पनि दुई वर्ष राख्नुपर्छ।’

उनले सरकारको दबाबमा परेर नभई सर्वसहमतिबाट विधेयक पास गर्नुपर्ने बताए। उनले स्थायी सरकार मानिने कर्मचारीहरूलाई सडकमा नआउने गरी ऐन निर्माण हुनुपर्नेमा जोड दिए। थाहा खबर

Facebook Comments Box