चारदिने भ्रमणमा आज भारत आइपुग्दै अमेरिकी उपराष्ट्रपति भेन्स
एजेन्सी
अमेरिकी उपराष्ट्रपति जेडी भेन्स चारदिने भारत भ्रमणको सिलसिलामा सोमबार नयाँदिल्ली आइपुग्दै छन्।
श्रीमती भारतीय मूलकी उषा र तीन सन्तानसहित भारत भ्रमणमा आउन लागेका हुन्। उनले सोमबार नै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भारतीय समय अनुसार आज साँझ साढे ६ बजे प्रधानमन्त्री मोदीले प्रधानमन्त्री निवासमा भेन्स र उनको परिवारको स्वागत गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले जेडी भेन्सको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्।
त्यसपछि भारत र अमेरिकाबीच औपचारिक वार्ता हुनेछ। वार्तामा भारतीय टोलीमा विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री र अमेरिकामा भारतका राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ६० देशमा ट्यारिफ (आयात शुल्क) लगाएको बेला उपराष्ट्रपति जेडी भेन्सको भ्रमणलाई चासोका साथ हेरिएको छ। थाहा खबर
