बारको चुनाव : ३५ सय गन्न बाँकी, कांग्रेस-एमाले गठबन्धनलाई दोब्बरको अग्रता
काठमाडौं : नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि गत शनिबार भएको निर्वाचनको मतगणना तेस्रो दिन सुरु भएको छ।
खसेको मतको अझै ३५ सय गन्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालले जानकारी दिए। अब काठमाडौं बार, उच्च अदालत बार र ललितपुर बारको मतगणना बाँकी रहेको उनको भनाइ छ। निरालका अनुसार आज पनि मतगणना सकिने छैन्। भोलिसम्ममा गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ।
गत शनिबार भएको मतदानमा ९ हजार ९ सय ९६ मतदाता मध्ये ७ हजार बढी मत खेसेको थियो। पछिल्लो मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानलले मतान्तर फराकिलो बनाएको छ।
दोस्रो दिनको अन्तिम मतगणनाको मत परिणाम अनुसार कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक–प्रगतिशील गठबन्धनले सबै पदमा फराकिलो अग्रता कायम गरेको हो।
लोकतान्त्रिक–प्रगतिशील गठबन्धनका अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले २ हजार ८ सय ८२ मत प्राप्त गर्दा विपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायीको प्यानल व्यावसायिक कानुन व्यवसायी गठबन्धनका अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठको १ हजार ४ सय ८२ मत पाएका छन्।
महासचिवमा पनि लोकतान्त्रिक प्रगतिशील गठबन्धनका केदार कोइरालाले २ हजार ८ सय ६० मत प्राप्त गर्दा व्यावसायिक कानुन व्यवसायीको गठबन्धनका यज्ञमणि न्यौपानेले १ हजार २ सय ३८ मत प्राप्त गरेका छन्।
सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली कांग्रेस निकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन्।
देशभर योग्य मतदाता ९ हजार ९ सय ९७ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९ सय ९५ मत खसेको थियो। बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जना चुनावी दौडमा रहेका छन्। थाहा खबर
