भारत र चीनबारे ओली : सँगै सुत्नेले खुट्टो बोकाउँछ, हटाउ भनेपछि सकिन्छ

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी राष्ट्रसँग आफूहरूको सम्बन्ध राम्रो रहेको बताएका छन्।

मधेश प्रदेशसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले कहिले सानातिना कुराहरू उठ्दैमा सम्बन्ध बिग्रियो भन्न नमिल्ने बताए।

‘थप छलफलको आवश्यकता कहिले कहिले हुन सक्छ तर दुई छिमेकी (चीन र भारत) सँग हाम्रो असाध्यै राम्रो मित्रता छ। यस मित्रतालाई कसैले बिगार्न पनि सक्दैन।’ ओलीले भने ‘सँगै सुतेको मान्छेले खुट्टो बोकाइदिन्छ। छुट्टै छुट्टै बेडमा सुतेको मान्छेले खुट्टो बोकाउँदैन नि ! खुट्टो हटाउ भन्नुपर्‍यो कुरो सिद्धियो।’

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने पनि बताए।

‘सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छाैँ । त्यसका लागि एउटा नेकपा (एमाले) र नेपाली काँग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर प्याण्डोराका बाकस खोलेजस्तो गर्दैनौँ । प्रतिगमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘राजतन्त्र फेरि ल्याउने भनेर केही केही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गरे। थाहा खबर

Facebook Comments Box