विश्वप्रकाशको प्रश्न : सरकारले चार हजार मान्छेको भिड थेग्न किन सकेन?
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्। उनले मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुँदा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्नेमा त्यसो हुन नसकेको बताए।
उनले संसद् नबसेको समयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले गम्भीरतापूर्वक नलिएको प्रति आपत्ति जनाए। समितिले गृहमन्त्रीलाई बोलाएर सरकारको बुझाइबारे जानकारी लिनुपर्ने बताए। उनले राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो? भन्दै प्रश्न गरे।
महामन्त्री शर्माले भने, ‘पहिलो एजेण्डामा नै चैत्र १५ गतेको घटना थियो। एजेण्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमी भयो, प्रक्रिया के हो ? पहिले बनाइएको थियो भने किन पछि करेक्शन गर्न ध्यान दिएनौँ। राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्रीजीलाई बोलाउनुपर्छ र राज्य प्रशासनको तर्फबाट राज्यको बुझाइ के हो? भएको विषयवस्तु के हो भन्नेबारेमा गृहमन्त्रीले जवाफ दिनुपर्छ । ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो राज्यको वा बल प्रयोग गर्ने कुरा नियतवश भएको हो वा आकस्मिक भएको हो। यो सन्दर्भमा गृहमन्त्रीजीले अवसर गुमाउनुभयो।’
महामन्त्री शर्माले सरकारले आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश हो वा आकस्मिक हो भन्नेबारमा पनि जवाफ दिनुपर्ने बताए। थाहा खबर
