प्रतिनिधिसभा : चालू अधिवेशनको अन्तिम बैठक आज
काठमाडौं : प्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम बैठक मंगलबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८०-२०८१, मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८०-२०८१ पेश हुनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुको साथै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदन सहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।
सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्नेछन्। थाहा खबर
