सदन अवरुद्ध गरेर प्रतिपक्षी संसदविरुद्ध गयो : रामहरि खतिवडा
काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशमा संकट परेको वेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेको आरोप लगाएका छन्।
आइतवार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनबाहिर पत्रकारहरुसँग उनले यस्तो आरोप लगाएका हुन्।
उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको दावी गरे।
सभामुखले आपतकालीन समय उपलब्ध गराउने भन्दाभन्दै प्रतिपक्षीहरुले संसद अवरुद्ध गरेको उनको भनाइ छ। उनले प्रधानमन्त्रीले सोमवार संसदमा जवाफ दिने भनेर सभामुखले जानकारी दिँदा पनि विपक्षीले संसद चल्न नदिएको आरोप लगाए।
‘सत्तापक्ष प्रतिपक्ष भन्ने आफ्नै ठाउँमा होला तर देशलाई अप्ठ्यारो परेको बेलामा सबै एकताबद्ध भएर संसदबाट आफ्नो कुरा राख्न पाउने प्रचलन हुन्छ र त्यसलाई प्रयोग गरौँ भन्ने हाम्रो धारणा थियो। आपतकालीन अवस्थामा आपतकालीन समय लिएर सबै सांसदले आफ्ना कुरा राख्न माग गरे‚’ उनले भने, ‘सभामुखले बस्नुस् म समय दिन्छु भन्दा पनि प्रमुख प्रतिपक्षले नमानेका कारण संसद अवरुद्ध भयो। प्रधानमन्त्री भोलि आउने भनेर सभामुखले जवाफ दिइसक्नु भएको छ। प्रधानमन्त्रीले जवाफ दिने र आज संसदमा सबै पोलिटिकल पार्टीका सांसदहरुले कुरा राख्नेभन्दा पनि संसद चल्न विभिन्न कारणले प्रमुख प्रतिपक्षी दलहरुले दिनुभएन।’
सांसद खतिवडाले तीनकुने घटनाको प्रसंगमा संविधान मान्छु भनेर शपथ लिएर आउनेले संविधान समाप्त पार्ने खेल खेलेको आरोप लगाए। थाहा खबर
