ओलीले फेरि ममाथि जालझेल गरे : प्रचण्ड‘कुलमान बर्खास्तीको चित्तबुझ्दो जवाफ नदिए संसद चल्दैन’
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः जालझेल गरेको आरोप लगाएका छन्। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले आफूमाथि प्रधानमन्त्री ओलीले जालझेल गरेको आरोप लगाएका हुन्।
उनले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने चेतावनी पनि दिए। उनले यसलाई प्रधानमन्त्री ओलीले सहज रुपमा लिनुपर्ने बताए।
उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरु टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए।
‘प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिएर उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, जालझेलको भयो भने आन्दोलन अघि बढ्छ। यो पटक पनि बडो चिन्तित र दुःखित छु‚’ उनले भने, ‘टिआरसीको लागि भनेर प्रधानमन्त्रीले खबर गर्नुभयो। कुलमानजीको विषयमा अब महिनापछि समय सकिँदैछ, कुलमानजीकै पक्षमा जनमत छ, अपमानित गर्नु हुँदैन, पुरस्कृत गर्नुपर्ने मान्छेलाई। टिआरसीको विषयमामात्रै कुराकानी भयो। त्यसमा समझदारी बनेपछि म उठेर हिँडे। त्योबाहेक केही एक शब्द उच्चारण गरेको होइन तर म निक्लिने बित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एक पटक निकै ठूलो जालझेल भएको महशुस मलाई भयो।’
आफू सिंहदरबारबाट निस्किएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उनले गुनासो गरे। प्रचण्डले उक्त कुराले आफूलाई पुनः स्वर्ग र नर्क सम्झाएको बताए।
‘एक दुई दिन पर्खिएको भए पनि हुन्थ्यो। म सिंहदरबार गएर टिआरसी टुंग्याएको लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन। त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो‚’ उनले भने, ‘त्यही दिन नै राप्रपाको ज्ञानेन्द्र शाहीलगायतले भने प्रचण्डले टिआरसीसँग कुलमान साट्यो। यो भन्दा झुटो, बेइमानीपूर्ण प्रचार केही हुनसक्छ?’ थाहा खबर
