तीन तहबीचको कार्य विस्तृतीकरण स्पष्ट पार्ने विषय अन्तिम चरणमा छ : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई राज्यले दिँदै आएका सेवा प्रवाह अझ प्रभावकारी, झन्झटमुक्त र सहज बनाइ सबैको पहुँच पुर्याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताएका छन्।
आइतवार सरकारले आव ०८०/८१ मा सम्पन्न गरेका प्रमुख कामसहितको सरकारको ९औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको बताए।
उनले बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको र मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालू आवका लागि समेत बजेट सुनिश्चित गरिएको दावी गरे।
उनले नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटरलगायतका सेवामा घण्टौँ लाइन लाग्ने अवस्था अन्त्य गरिएको बताए।
राज्यका सेवा प्राप्त गर्न निकायपिच्छे वैयक्तिक विवरण पेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्न विभिन्न निकायका सेवा प्रणालीहरुबीच अन्तरआबद्धता गर्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए।
वैदेशिक रोजगार तथा स्वदेशमा रहेका श्रमीकहरुको अधिकार संरक्षण एवं मिटरब्याज जस्तो सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारका तर्फबाट पहलकदमी भएको बताए।
प्रधानमन्त्री ओलीले शिघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले शुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल भएको बताए। यसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको र यसमा ५० भन्दा बढी सेवा आबद्ध रहेको बताए।
‘राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाइ राज्य प्रदत्त सेवामाथि सबैको पहुँच पुर्याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको छ। सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको छ‚’ प्रधानमन्त्री ओलीले भने, ‘ नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटर लगायतका सेवामा घण्टौँ लाइन लाग्ने अवस्था अन्त्य गरिएको छ। शिघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले शुरु गरेको नागरिक एपले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको छ। यसमा ५० भन्दा बढी सेवा आबद्ध छन्।’
प्रधानमन्त्री ओलीले सरकार प्रशासनिक तथा वित्तीय संघीयतालाई थप सुदृढ बनाउन विभिन्न सुधारका कार्यहरुमार्फत प्रयासरत रहेको बताए।
सरकारले वित्तीय संघीयताको कार्यान्वयनका लागि पारदर्शी र वस्तुष्ठि आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी वित्तीय हस्तान्तरणको व्यवस्था गरेको बताए।
तीन तहबीचको कार्य विस्तृतिकरण स्पष्ट बनाउने विषयसमेत उच्च प्राथमिकतामा राखेर अन्तिम रुप दिइरहेको बताए। जलविद्युत क्षेत्रको विकासमा उल्लेखनिय सुधार भएको बताए। यस अवधिमा विद्युत उत्पादन र प्रशारण लाइन विस्तारसँगै अन्तरदेशीय विद्युत व्यापार गर्नसमेत नेपाल सफल भएको बताए।
मुलुकको आर्थिक अवस्थामा देखापरेको असहज परिस्थिति अर्थतन्त्रको वाह्य र आन्तरिक क्षेत्रमा परेको दबाब कम गर्न सरकारले घनिभूत प्रयास गरिरहेको र केही उपलब्धि हासिल गरेको जिकिर गरे।
प्रधानमन्त्री ओलीले आव ०८०/८१ सम्ममा ६८ वर्षभन्दा माथिका १६ लाख ८९ हजार १९६ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र ८ लाख ३६ जना बालबालिकाले बाल संरक्षण अनुदान प्राप्त गरेको बताए।
९९.९ प्रतिशत बालबालिका पूर्वप्राथमिक शिक्षामा भर्ना भएका र घरजग्गा स्वामित्व पुगेको महिला २५ प्रतिशत पुगेको बताए। थाहा खबर
