उज्यालो नेपालको नायक कुलमान होइनन्, भारत र निजी क्षेत्रलाई धन्यवाद दिऊँ : ऊर्जामन्त्री खड्का

सेयर गर्नुहोस

काठमाडौँ : ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन्।

राष्ट्रियसभाको बुधवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरे।

कार्यकारी निर्देशक घिसिङ उद्योगका लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्काले आरोप लगाएका छन्।

उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे। उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपूर्ति धानिएको बताए।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ। २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ। आज पनि विद्युत आपूर्ति हुन सकेको छैन‚ हिजो पनि लोडसेडिङ थियो, आज पनि छ‚’ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ति कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ। अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ। त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है। बरु यो धन्यवाद भारतलाई दिऊँ निजी क्षेत्रलाई दिऊँ।’

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भने पनि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखिएको बताए। प्राधिकरण नाफामा रहेको भनी गरिएको दावीमा कुनै सत्यता नभएको उनको तर्क छ। थाहा खबर

Facebook Comments Box