ज्ञानेन्द्रलक्षित प्रचण्डको टिप्पणी : भिलेन सक्रिय भएन भने हिरो पनि सफल नहुन सक्छ
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको भिलेन भनेका छन्।
सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भिलेन सक्रिय हुँदा हिरोलाई सम्पूर्ण तागत लगाएर परास्त गर्ने अवसर रहने बताए।
‘कुनै पनि कथा, उपन्यास, फिल्म हिरोले मात्र चल्दैन, त्यहाँ भिलेन पनि चाहिन्छ। भिलेन सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ।’ उनले भने, ‘भिलेन अलि खतरनाक भएर आइदियो भने हिरोले पनि सम्पूर्ण तागतका साथ त्यसलाई परास्त गर्ने गर्छ। अहिले भइराखेको यही हो।’
उनले नेपालमा राजतन्त्र पुनर्स्थापनाको संभावना नरहेको जिकिर गरे। अहिलेको बहसले समाजवादी यात्राको बाटो थप फराकिलो पार्ने उनको तर्क छ।
‘नेपालमा राजतन्त्र पुनर्स्थापना त असंभव छ । बरु यो बहसले समाजवादको यात्रा फराकिलो पार्ने मेरो विश्वास छ।’ प्रचण्डले भने।
तत्कालीन राजा ज्ञानेन्द्र शाह सात राजनीतिक दल र नेताहरूलाई आत्मसमर्पण गरेर उनकै पछि लाग्छु भन्दा पनि लात्तीले नहानेको भए केही वर्ष टिक्न सक्ने उनको भनाइ छ।
नेपाली जनता, राजनीतिक दल र नेताले उदारतापूर्वक चालेका कदमहरूमा संयमित रुपमा बस्नुको साटो दुस्साहस गर्न खोजेको भन्दै परिणाम गम्भीर हुनसक्ने चेतावनी पनि प्रचण्डले दिए। थाहा खबर
