रवि लामिछानेले दिए उच्च अदालतमा पुनरावेदन

सेयर गर्नुहोस

रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेर पुनरावेदन दिनुभएको छ ।
गत माघ १३ गते रुपन्देही जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रवि लामिछानेलाई एक करोड रुपियाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेले जिल्ला अदालतको उक्त आदेश बदरको माग गर्दै सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिनुभएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीमा गत माघमा मुद्दा दर्ता भएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले रास्वपा सभापति रवि लामिछाने आफैँ अदालतमा उपस्थित भएर जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरिपाऊँ भन्दै निवेदन पेस गरेको जानकारी दिनुभयो ।

रवि लामिछानेले जिल्ला अदालतले मागेको एक करोड रुपियाँ धरौटीको आदेश मिलेन भन्दै उक्त आदेश बदर गरी साधारण तारिखमा रहन पाऊँ भन्दै निवेदन दिनुभएको कुँवरले जानकारी दिनुभयो ।
लामिछानेले दिनुभएको निवेदनमाथि मङ्गलबार अदालतमा पेसी तोकिएको छ । उता जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई धरौटीमा छाड्न गरेको आदेश बदर गरी रविलाई थुनामै राख्नुपर्ने मागसहित जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही यसअघि नै उच्च अदालत बुटवल इजलास गइसकेको थियो । वैखरी

Facebook Comments Box