सांसदहरू आरोप र प्रत्यारोपमा अल्झिरहँदा लक्ष्य ओझेलमा पर्न सक्छ : सांसद गौतम

काठमाडौँ : नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले सांसदहरू आरोप र प्रत्यारोपमा अल्झिरहँदा समृद्ध नेपाल, सुखी नेपाली भन्ने लक्ष्य ओझेलमा पर्ने चिन्ता व्यक्त गरेकी छन्।
राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन्। उनले संक्रमणकालमा अपेक्षित उपलब्धि नहुँदा जनतामा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गइरहेको बताइन्। उनले संसद्भित्र हुने हरेक छलफल र निर्णयहरूले राष्ट्रिय राजनीतिमा ठूलो महत्त्व राख्ने उल्लेख गर्दैमा सबै सचेत हुन जरुरी रहेको बताइन्।
उनले सांसदहरू नै आरोप र प्रत्यारोपमा अल्झिरहँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताइन्। क्षणिक लाभका लागि आमजनतामा फैलाइएका भ्रम र समाचारले नैराश्य मात्र जगाउने भएका कारण यसमा सबै सचेत हुन जरुरी रहनुपर्नेमा जोड दिइन्।
गौतमले भनिन्, ‘हामी आरोप र प्रत्यारोपमा अल्झिरहँदा समृद्ध नेपाल, सुखी नेपाली भन्ने हाम्रो लक्ष्य ओझेलमा पर्न सक्छ। क्षणिक लाभका लागि आम जनतामा फैलाइएका भ्रम र समाचारले नैराश्य मात्र जगाउँछ। यसले कसैलाई पनि दीर्घकालीन फाइदा पुर्याउँदैन। यसतर्फ सबै सचेत बनौँ।’
उनले संघीय मन्त्रालयबीच समन्वय नहुँदा जनताको अपेक्षाअनुसार विकास निर्माणले तीव्रता पाउन नसकेको बताइन्। थाहा खबर