राज्यले दलित समुदायलाई हेप्यो : सांसद परियार
काठमाडौँ : राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले राज्यका विभिन्न अङ्गले नै दलित समुदायलाई हेप्ने र दबाउने गरेको आरोप लगाएका छन्।
शुक्रवार राष्ट्रियसभा बैठकको विशेष समयमा उनले यस्तो आरोप लगाएका हुन्। उनले दलित समुदायको सन्दर्भमा समाज र सरकार अझै पनि प्रगतिशील र लोकतान्त्रिक नभएको जिकिर गरे।
उनले सांसदहरुले नै दलित समुदायमाथि विभिन्न सन्दर्भमा होच्याउने र हीनतावोध गराउने गरेको आरोप लगाए।
‘केही दिनअगाडि हामी सांसदहरु बसेको ठाउँमा दलित समुदायकै भएको प्रसंगमा यो जातै यस्तै हो भनेर हामीहरुले नै बोलेको कुरामा साक्षी बन्नुपर्ने परिस्थिति आयो‚’ उनले भने, ‘यस्ता घटनालाई निचोडको रुपमा हेर्दा अहिले पनि नेपाली समाज, हामीहरु र हाम्रो सरकार दलित समुदायको सन्दर्भमा अहिले पनि प्रगतिशील र लोकतान्त्रिक हुन नसकेको यी घटनाहरुले देखाउँछ।’
राष्ट्रियसभा सदस्य परियारले विभिन्न जिल्लामा दलितमाथि भएका दुर्व्यवहार अन्त्य गर्न राज्यले न्यायसंगत कदम चाल्नुपर्नेमा जोड दिए। थाहा खबर
