ग्यासको कमिशन बढाउन उद्योगमन्त्री नै संलग्न : हरि ढकाल
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खाना पकाउने ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसद ढकालले उद्योगमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन्। उनले कमिशनखोर व्यापारीहरुको पक्षपोषण सरकारले नै गरिरहेको आरोप पनि लगाए।
‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्याउने भनेको? मैले मात्र सुनेको हो कि अन्य माननीयज्यूले पनि सुन्नुभएको हो‚’ उनले भने, ‘दश वर्षजति त भएछ त! अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ।’
उनले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको आरोपसमेत लगाए।
उनले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।थाहा खबर
