यात्रा संस्मरण: हुलाकी राजमार्गले ल्याएको परिवर्तन

धर्मेन्द्र विह्वल-
२०७८ फागुन १० गते (२०२५ फेब्रुअरी १२) दिउँसो करिब एक बजे हामी भारतको उत्तर प्रदेशस्थित बढनी हुँदै नेपाल प्रवेश गर्यौं। राजनीतिक र प्रशासनिक रूपमा भन्सार र प्रहरी जाँचचौकीलाई छोड्ने हो भने यहाँ नेपाल र भारतको सीमा कहाँ सुरू हुन्छ र कहाँ अन्त्य हुन्छ भन्ने अनुभूति गर्न कठिन हुन्छ। यही अनुभव मैले महोत्तरी जिल्लाको मटिहानी (नेपाल) र मधवापुर (भारत) को सीमामा पनि गरेको छु। एकै भाषा, संस्कृति, रहन-सहन भए पनि राजनीतिक र प्रशासनिक विभाजनले यी क्षेत्रहरू अलग भएका छन्।
परिवर्तनको अनुभूति
फागुन ९ गते हामी यही मार्ग हुँदै भारत प्रवेश गर्यौं र प्रयागराजको महाकुम्भ मेलामा स्नान गर्यौं। त्यसबेला हतार भएको कारण यस क्षेत्रको राम्रो अवलोकन गर्न पाइनँ। तर, यो ठाउँ मेरालागि नयाँ भने थिएन, किनकि मैले विगतमा यस क्षेत्रको पटक–पटक भ्रमण गरेको छु । यसपटक भने कृष्णनगरलाई पहिलेभन्दा विकसित बजारको रूपमा पाएँ।
कृष्णनगर नेपालको कपिलवस्तु जिल्लामा पर्ने प्रमुख व्यापारिक नाका हो, जसले पश्चिम नेपालको कपिलवस्तु, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान र आंशिक रूपमा दाङका बासिन्दाहरूलाई व्यापारिक सेवा दिँदै आएको छ। भारततर्फ बढनीसँगै जोडिएको यो बजार नेपाल-भारत व्यापारको ऐतिहासिक केन्द्र रहँदै आएको छ।
नेपाल-भारत सीमा क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका साथीहरू मनोज ओझा, मनीष गुप्ता र अंकुश श्रीवास्तवसँग मेरो नियमित सम्पर्क रहन्छ। मैले कृष्णनगर आइपुगेपछि उनीहरूलाई सम्पर्क गर्न खोजेँ। तर, मनोजको फोन लागेन र मनीष तथा अंकुशले फोन उठाएनन्। पछि उनीहरूले मलाई कल गरे पनि तबसम्म म कृष्णनगरबाट बाहिरिइसकेको थिएँ।
वहादुरगञ्ज: अतीत र वर्तमान
हाम्रो गाडी करिब आठ किलोमिटरको यात्रा गर्दै वहादुरगञ्ज आइपुग्यो। यो ठाउँसँग मेरो भावनात्मक सम्बन्ध छ। करिब २०–२५ वर्षअघि म यहाँ दुईपटक आएको थिएँ र केही दिन बिताएको थिएँ। त्यो बेला यो स्थान पूर्ण रूपमा गाउँको स्वरूपमा थियो, तर अहिले राम्रोसँग विकसित भइसकेको रहेछ।
पहिले यहाँ एउटा चर्चित कीटनाशक उद्योग थियो। अहिले भने तीन वटा ठूलो प्लाई उद्योग सञ्चालनमा छन्। कृष्णनगर–चन्द्रौटा सडक अहिले चार लेनको बनेको छ, जसका कारण यो क्षेत्र अझै महत्वपूर्ण व्यापारिक केन्द्र बन्दै गएको छ।
पहिले तौलिहवाबाट कृष्णनगर (३० किलोमिटर) पुग्न पुरै दिनभरिसम्म लाग्थ्यो, तर अहिले स्तरीय सडक सञ्जालका कारण यो यात्रा ४०–४५ मिनेटमै पूरा गर्न सकिन्छ। हुलाकी सडक सञ्चालनमा आएपछि आवतजावत मात्र होइन, यहाँको आर्थिक गतिविधि र रोजगारीका अवसर पनि बढेका छन्।
मेरो पत्नी मुन्नीलाई यस ठाउँबारे धेरै जानकारी थिएन। मैले उनलाई सोधेँ, “तिमिलेलाई वहादुरगञ्जबारे सुनेकी छौ ?”
उनले भनीन्, “देखेको छैन, तर सुनेकी छु। विभा दिदीको गाउँ, होइन?”
मैले भनेँ, “हो, त्यो गाउँ यही हो।”
विभा दिदी मेरो फुफु हुन्। फुफाज्यू समयपूर्व नै बित्नुभएको थियो। दिदी कहिले काठमाडौँ त कहिले भैरहवामा बस्नुहुन्छ। अहिले यहाँ उहाँहरूको परिवार कोही छन् कि छैनन् भन्ने जानकारी मलाई छैन।
पहिले मेरा फुफाज्यूका बुवा यहाँ प्रभावशाली व्यक्तित्व मानिनुहुन्थ्यो। उहाँको राजनीतिमा सामान्य रुचि थियो। पहिलो पटक यहाँ आउँदा उहाँको संगत गर्ने अवसर पाएको थिएँ। तर, अहिले उहाँ हुनुहुन्न, केवल उहाँका सम्झनाहरू मात्र छन्।
त्यसपछि यहाँ डकैतीको घटना भयो, जसमा फुफु घाइते हुनुभयो। बुटवल अस्पतालमा उहाँको उपचार भइरहेको बेला संयोगले म पनि बुटवलमै थिएँ र उहाँको उपचार प्रक्रियामा सहभागी हुन पाएँ। अहिले पुनः वहादुरगञ्ज आइपुग्दा ती पुराना घटनाहरू मानसपटलमा जीवित भए।
वाणगङ्गा: राम–जानकीको सम्बन्ध
हाम्रो गाडी वहादुरगञ्जबाट तौलिहवातर्फ बढ्न थाल्यो। बाटोभरि म सडकछेउका घर, विद्यालय, बजार, यातायातका साधनहरू नियाल्दै थिएँ। सोच्दै थिएँ— एकटा सडकले कसरी मानिसको जीवन बदल्न सक्छ!
हामी वाणगङ्गा नदीमा पुगेका थियौं। धार्मिक मान्यताअनुसार, विवाहपछि जानकीजीलाई अयोध्या लैजाँदै गर्दा उहाँलाई यहाँ प्यास लाग्यो। श्रीरामले आफ्नो बाण प्रहार गरी गङ्गालाई बोलाउनुभयो, जसबाट पानीको स्रोत उत्पन्न भयो। यही कारण यो नदीलाई ‘वाणगङ्गा’ नाम दिइएको मान्यता छ।
मानवअधिकारकर्मी रवि ठाकुरले पनि यस प्रसंगमा सहमति जनाउँदै भन्नुभयो, “यो नदी वास्तवमै ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण छ।”
मैले भनेँ, “म त मिथिला क्षेत्रको मानिस, मेरो लागि त यो कथाले अझै विशेष महत्व राख्छ। यहाँ मिथिला र अवधबीचको पुरानो सम्बन्ध झल्किन्छ।”
गाडी वाणगङ्गा पुल पार गर्दै तौलिहवा बजारतर्फ प्रवेश गरिसकेको थियो। मैले रविजीलाई भनें, “मिथिला र अवधबीचको सम्बन्धलाई नयाँ ढंगले पुनर्निर्माण गर्न हामीले भूमिका खेल्न सक्छौं।”
उहाँले पनि यस कुरामा सहमति जनाउनुभयो। गाडी हाम्रो गन्तव्य ‘माहुरी होम’ को प्राङ्गणमा रोकिइसक्व्को थियो ।
(लेखक धर्मेन्द्र विह्वल नेपालका एकमात्र सरकारी समाचार एजेन्सी ‘राष्ट्रिय समाचार समिति (RSS)’ का अध्यक्ष हुन्।)