लागुऔषध नियन्त्रण र रोकथाम एउटै निकायबाट सम्भव छैन : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन्।
शनिवार नेपाल प्रहरीले शुरु गरेको लागुऔषध विरुद्धको महाभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताए। उनले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताए।
समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रूपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाभियान शुभारम्भ गरिएको बताए। उनले लागुऔषध कारोबार तथा दुर्व्यसनीका घटना नियन्त्रण र निरूपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रश्तुत हुन निर्देशन दिए।
कुँवरले भने, ‘लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव हुँदैन। यो सामूहिक दायित्वको विषय हो। यसका लागि प्रो एक्टिभनेस पनि महत्त्वपूर्ण रहेको छ। यसमा व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य छ।’
विश्वमा करिब ३० करोड र एशियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागुऔषध सेवनकर्ता रहेको बताए। जसमध्ये गाँजा र त्यसबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको बताए। लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दा प्रत्येक आर्थिक वर्षमा करिब ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको बताए। थाहा खबर
