तिलौराकोट गोल्ड कप: संकटाको विजयी सुरुवात

सेयर गर्नुहोस

किरणमान बज्राचार्य कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा दोस्रो तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ।

उद्घाटन खेलमा संकटाले आयोजक कपिलवस्तु–११ लाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा सशक्त प्रवेश गरेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको अतिरिक्त समयमा संकटाका उत्तम शाहीले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए।

उत्कृष्ट प्रदर्शन गरेका उत्तम शाही ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

यो हारसँगै आयोजक कपिलवस्तु–११ प्रतियोगिताबाट बाहिरिएको छ भने संकटा सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई ३० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिए।

उनले बुद्ध रंगशालाको स्तरोन्नतिका लागि वाणगंगा नगरपालिकासँग सहकार्य गर्ने प्रदेश सरकारको प्रतिवद्धता व्यक्त गरे।

लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले प्रतियोगिताले ऐतिहासिक स्थलको प्रचारप्रसारमा टेवा पुग्ने उल्लेख गरे।

प्रतियोगिता फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

Facebook Comments Box