मुग्लिन-पोखरा सडक : दमौली बजारमा कालोपत्र गर्न थालियो

सेयर गर्नुहोस

दमौली : मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र शुरु भएको छ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश ठाउँमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र शुरु भएको हो। दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरू भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उनले बताए।

उनले भने, ‘बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ। एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ।’ बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उनको भनाइ छ। पूर्वी खण्डमा हालसम्म ७७.७ प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वी खण्डमा पर्ने ४१.४५ किलोमिटर दूरीमध्ये ३४.५ किमीमा चार लेन र ३.१ मा दुई लेन सडक कालोपत्र भइसकेको छ।

यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन्। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ। थाहा खबर

Facebook Comments Box