माओवादी–एकीकृत समाजवादी एकताको ‘च्याप्टर क्लोज’, प्रचण्डको बोली बन्द !नेसपा यादव पक्षसँगको एकता प्रक्रिया पनि ठप्प
डाकमान राई
काठमाडौँ : प्रमुख प्रतिपक्षमा पुगेपछि फुर्सदिला बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशदौडाहामा छन्। यसैक्रममा उनले ठाउँठाउँमा पुगेर भन्दै आएका थिए– माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग चाँडै पार्टी एकता हुन्छ।
पछिल्लो पटक आजको भोलि नै पार्टी एकता भइहाल्ला जसरी प्रचण्डले निरन्तर अभिव्यक्ति दिँदै आएका थिए। एकता हुने चर्चामा रहेका दलहरूबीच यसबारे छलफलसमेत हुन छाडेको वेला उनी स्वयंले नै बढी जोडका साथ चाँडै एकता हुने दाबी गर्दा दोस्रो तहका नेताहरूले पनि स्वर खाप्दै आए।
तर अहिले आएर नेकपा एसले माओवादीसँग एकता गर्ने एजेन्डा नै खारेज गरेको छ। जसले अध्यक्ष प्रचण्डको बोली बन्द भएको छ। ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारदेखि जारी नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठकले तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको हो।
केन्द्रीय कमिटीबाट पारित अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टी समाजवादी विचार र लक्ष्यमा प्रष्ट रहेकाले एमाले, माओवादीलगायत कुनै पनि राजनीतिक दलसँग तत्काल एकीकरणको कुनै सम्भावना छैन।’
माओवादी र नेकपा समाजवादीबीच २०७९ को प्रतिनिधिसभा निर्वाचनअघि नै एकता भइहाल्ने चर्चा थियो। पार्टीका तर्फबाट एकताका लागि वार्ता समिति नै बनाएर छलफल गरेका पनि हुन् तर एक भइहाल्न सकेनन्।
एकता हुन नसके पनि खासगरी माओवादी नेताहरू समाजवादी मोर्चालाई देखाएर त्यसैमार्फत एकतासम्म पुग्ने बताए पनि अन्य दलले एकताको एजेन्डा नै खारेज गरेका हुन्।
विप्लव नेतृत्वको नेकपासँग एकता भइहाल्ने गरी प्रक्रिया अघि बढेको दाबी नेताहरूको थियो तर नेकपाले पनि माओवादीसँग एकताको सम्भावना टरेको निष्कर्ष गत पुस पहिलो साता कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय कमिटी बैठकबाट निकालेको थियो।
प्रचण्डकै कारण एकताको ‘च्याप्टर क्लोज’ !
माओवादी केन्द्रसँग एकताको सम्भावना दूर हुनुमा नेकपा समाजवादी र विप्लव नेकपा दुबैले माओवादी अध्यक्ष प्रचण्डलाई कारकका रूपमा देखाएका छन्। गत पुसकै बैठकबाट विप्लव नेकपाले प्रचण्डकै उदासीनताले एकताको सम्भावना टरेको निष्कर्ष निकालेको थियो।
आफूहरूले एकता गर्ने निर्णय गरे पनि त्यसबारे कुनै छलफल नगरेकाले प्रचण्डलाई नै ‘एकता विरोधी’ को संज्ञा दिँदै एकताको सम्भावना टरेको निष्कर्षमा नेकपाका नेताहरू पुगेका थिए।
नेकपाका पोलिटब्यूरो सदस्य सन्देश पौडेल अहिले पनि उक्त प्रक्रिया थप अघि नबढेको बताउँछन्। माओवादीकै उदासीनता एवं गैरजिम्मेवारीपनाका कारण अझै मूर्त रूप लिने सम्भावना नरहेको उनी बताउँछन्।
‘हामीले त हिजो एकता गर्ने भनेर केन्द्रीय कमिटीबाटै निर्णय गरेर अघि बढेका हौँ’, उनले भने, ‘तर माओवादीकै उदासीनता भनौं वा गैरजिम्मेवारीपना भनौं, यो प्रक्रिया रोकिएको हो। अहिले पनि थप अघि बढेको छैन। त्यसकारण मूर्त रूप लिने वा एकता हुने सम्भावना तत्काललाई छैन।’
नेकपा एकीकृत समाजवादीले पनि प्रचण्डलाई नै कारण देखाएको छ। नेकपा समाजवादीका नेता डा. विजय पौडेल माओवादीले प्रयोग मात्रै गर्न खोजेको महसुस भएपछि एकताको प्रक्रिया भाँडिएको बताउँछन्।
‘पहिलो धेरै अगाडि नै बढिसक्या थ्यो’, उनले भने, ‘पछि मिसयुज मात्रै गरे भन्ने लाग्यो क्यारे हाम्रा अध्यक्षलाई। त्यसपछि थप अघि बढेन।’
नेकपा समाजवादीमा खासगरी दोस्रो तहका नेताहरू माओवादीसँगको एकताका लागि अनिच्छुक देखिएपछि थप अघि बढ्न सकेको थिएन। पार्टीको सचिवालय तथा स्थायी कमिटी बैठकमै नेताहरूले माओवादीसँग एकता गरे ठूलै पङ्क्ति एमालेमा फर्किने खतरा औँल्याएका थिए। त्यही कुरालाई मद्देनजर गर्दै अहिले केन्द्रीय कमिटीले एकतासम्बन्धी एजेन्डा नै खारेज गरेको हो।
नेसपासँगको एकता प्रक्रिया पनि ठप्प
माओवादी र नेपाल समाजवादी पार्टीको महिन्द्रराय यादव पक्षबीच सहमति भएको एक वर्ष पुग्न लाग्दासमेत एकता हुन सकेको छैन। पार्टी नै विभाजन गरेर नेसपा यादव पक्षले २०८० चैत ३ मा माओवादीसँग एकता गर्ने सहमति गरेको थियो।
माओवादी र नेसपाबीच एकताका लागि हस्ताक्षर हुँदै गर्दा बाबुराम भट्टराई पक्षले भने नामसहितका अन्य धेरै शर्त पूरा नभएको भन्दै टाढिएको थियो। केही दिनअघि मात्रै महाधिवेशन सम्पन्न गराएको नेसपा बाबुराम पक्षले अहिले त झन् माओवादीसँग एकता नै नहुने बताउँदै आएको छ।
तर झन्डै एक वर्षअघि सहमति गरेर पनि यादव पक्षसँगको एकताले समेत मूर्त रूप लिएको छैन। नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ एकता गर्ने प्रक्रिया अहिले पनि जारी नै रहेको बताउँछन्। नेकपा समाजवादी, विप्लव नेकपाले तत्काललाई एकताको ‘च्याप्टर क्लोज’ भएको बताइसक्दा पनि उनले भने समाजवादी मोर्चामा रहेका चार दलहरूबीच नै एकताको प्रयास भइरहेको बताए।
‘प्रक्रिया अहिले पनि जारी नै छ’, उनले भने, ‘तर दुई पक्षबीच मात्रै भन्दा पनि सम्भव भएसम्म मोर्चामा रहेका सबै दलहरूबीच नै पार्टी एकताका निम्ति कोसिस भइरहेको छ। त्यसैकारण समय लिइरहेका हौँ।’
आफ्नै कारण एकता भाँडिएको आरोप खेपिरहेको माओवादी केन्द्र भने यसलाई अस्वीकार गर्छ। आफूहरूको अनिच्छाले भन्दा पनि विभिन्न परिस्थितिले ढिलाइ भइरहेको माओवादी सचिव लीलामणि पोखरेल बताउँछन्। तत्काललाई नेकपा समाजवादीसँगको सम्भावना अलि टाढा जस्तो देखिए पनि विप्लव नेकपासँगको छिट्टै एकता हुने दाबी उनको छ।
‘समय परिस्थितिले ढिला भयो। हाम्रो अनिच्छाले ढिलाइ भएको होइन’, उनी भन्छन्, ‘अहिले एकीकृत समाजवादीसँगको अलि टाढा पुगेको जस्तो देखिएको छ। माधवजीले पनि स्पष्ट भनिसक्नुभयो तर विप्लवजीहरूसँग एकता गर्ने सम्भावना टरेको छैन। छिट्टै हुन्छ।’
