बलात्कारका दोषीलाई जोगाउन दलका नेताहरू सक्रिय : मधेशका गृहमन्त्री लेखी
जनकपुरधाम : मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेशमा बलात्कार जस्तो आपराधिक घृणित कार्यमा संलग्नलाई जोगाउन राजनीतिक दलका नेताहरू सक्रिय रहेको बताएका छन्। उनले दलका नेताहरूले त्यस्ता अपराधीलाई लाख‚ दुई लाखमा बचाउन लागिपरेको पनि स्पष्ट पारेका छन्।
गत माघ ३० गते सिरहा नवराजपुरमा एक दलित किशोरी उपर भएको बलात्कार र हत्या घटनाबारे शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री लेखीले यस्तो जघन्य आपराधिक घटना मिलाउन, पञ्चायती गरी लाख‚ दुई लाखमै चुप लाग भनेर मिलाउन दलकै नेताहरू सक्रिय रहेको पाएको भन्दै दुःख व्यक्त गरे।
घटनास्थलका स्थानीय बासिन्दा पनि यस्ता घटना लुकाउन अग्रसर देखिएर अपराधलाई प्रश्रय दिने काम समाजबाटै पनि भइरहेको देखिएको मन्त्री लेखीले पत्रकार सम्मेलनमा आरोप लगाए।
मन्त्री लेखीले पत्रकार सम्मेलनमा बोल्दै मानवअधिकार, पत्रकार सहितका निकायलाई जानकारी गराउनुको साटो प्रहरीलाई मिलाएर घटना स्थानीयस्तरमै लुकाउने प्रयास वृद्धि भइरहेको आरोप लगाए।
मन्त्री लेखीले अपराधी आफ्नै पार्टीको भए पनि कारबाही र सजायबाट भाग्न नसक्ने पनि प्रतिबद्धता व्यक्त गरे। मन्त्री लेखीसँगै रहेका मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले प्रहरी निरीक्षकको नेतृत्वमा एक विशेष टोली खटाइएको हो।
उनले छिट्टै अपराधीसम्म पुग्ने गरी काम भइरहेको बताए। उनले अनुसन्धानका विषय भएकाले विस्तृत भन्न नमिल्ने यद्यपि छिट्टै अपराधी सहित प्रहरी उपस्थित हुने उनको तर्क छ। थाहा खबर
