मोडेल फेर्न नसक्दा योजनाबद्ध विकास हुन सकेन : मन्त्री दाहाल

सेयर गर्नुहोस

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन नसकेको बताएका छन्।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। उनले विकास निर्माणका कामहरु अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताए।

उनले विकास निर्माणका आयोजनाहरुको सन्दर्भमा जनघनत्व र उपभोक्ताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए।

उनले मुलुकलाई समृद्ध बनाउनका लागि स्थानीयको उत्पादन शहरसम्म पुर्‍याउनका लागि आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको समेत बताए।

उनले नेपाल ठूलो अर्थतन्त्र भएका दुई देशको बीचमा रहेको उल्लेख गर्दै ती देशका सीमा नाकामा सहज आवतजावतको वातावरणसमेत बनाउनुपर्ने बताए। उनले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्दै चीनसँगका नाकाबाट सहज रूपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए।

उनले वस्तुको लागि एकदेशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको समेत दाबी गरे।

उनले भने, ‘अहिले हामीले विकासका मोडलहरुमा पनि हेरफेर गर्नुपर्ने भएको छ। हामीले योजनावद्ध विकास गर्न सकेका छैनौँ। योजना आयोगले विकासका आयोजनाहरु अगाडि बढाउने भए पनि योजनाअनुरुप काम हुँदैन। अब त्यस्ता कुराहरुलाई अन्त्य गरेर मैले चाहीँ के सोचेको छु भने विकास निर्माणका कामहरु अगाडि बढाउँदाखेरि प्राथमकिता निर्धारण गर्नुपर्दछ।’

बिहीबारबाट सुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहेका छन्। प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन पाइनेछ। थाहा खबर

Facebook Comments Box