शीर्ष नेतृत्व नै अस्थिरताको कारक : सांसद शर्मा

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले शीर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताएकी छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताइन्। उनले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु नभई देश सञ्चलन गर्ने शीर्ष नेतृत्व रहेको टिप्पणी गरिन्।

संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताइन्। संविधान असंशोधनीय दस्ताबेज नभएको बताइन्। गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भए पनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गरिन्। उनले देशमा पाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘शासकीय स्वरुप, निर्वाचन प्रणाली बदल्नुपर्छ। यो मलाई पनि लाग्छ र मेरो दलको मान्यता पनि हो। तर अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका मान्छेहरु होइनन्। यसरी सोच्यो भने यो गलत हुन्छ। हामी त झन्डै दुई तिहाईको बीचमा पुगेका नेकपाका मान्छे हौँ। एउटै पार्टीको झन्डै दुई तिहाई पुगे पनि त टिक्दो रहेनछ भन्नेकुरा त ०७४ को निर्वाचनपछि हामीले भोगेर आएका छौँ। अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु हुन् वा यो देशलाई सञ्चालन गर्ने शिर्ष नेतृत्वहरु हुन् ? यहाँनेर खोजि गर्नुपर्ने जरुरी छ। अस्थिरताका कारक उत्पीडित समुदायका महिला, दलितहरु होइनन् । अस्थिरताका कारक यहाँ शीर्ष हौँ भन्ने नेताहरु हुन्।’

सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पारिन्। उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको पनि बताइन्।

Facebook Comments Box