युवाहरूले नेपालमा पढेर नेपालमै जागिर खाए हुन्थ्यो : प्रकाशमान
काठमाडौं : उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरुलाई आग्रह गरेका छन्। बुधबार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपामला शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भए पनि अहिले त्यो अवस्था नरहेको बताए। उनले अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरु पनि नेपालकै क्याम्पसहरुमा अध्ययन गर्न सकिने अवस्था रहेको उल्लेख गरे।
उनले नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरुले विशेष ध्यान दिन जरुरी रहेको बताए।
उनले भने, ‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सिमित विषयहरु छान्न पाउने गर्दथ्यौँ। तर अहिले त्यो अवस्था छैन। हामीले धेरै विषयहरु छानेर अध्ययन गर्नसक्छौँ। अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ। अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरु अहिले नेपालमै बसेर पढ्न मिल्छ। यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ।’
उपप्रधानमन्त्री सिंहले क्याम्पसको पूर्वाधार विकास गर्नुपर्ने काममा सरकारले विशेष ध्यान दिने पनि बताए।
