सरकार भ्रष्ट र बिचौलियाका कुकर्मलाई वैधानिकता दिन तल्लीन छ : सांसद दाहाल

सेयर गर्नुहोस

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकार कहाँ छ भनेर दिउँसै बत्ति बालेर खोज्नुपर्ने परिस्थिति सृजना भएको टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभामा बोल्दै उनले सरकार बाढी पीडित, भूकम्प पीडित, विकास निर्माण र सेवा प्रवाहमा नभेटिएको बताए।

सांसद दाहालले सरकार भ्रष्ट, गठ, बिचौलिया र भूमाफियाको सेवामा तल्लीन रहेको टिप्पणी गरे । उनले बिचौलियाकै कुकर्मलाई वैधानिकता दिन अध्यादेश ल्याएको आरोपसमेत लगाए।

‘गएको सात महिनामा सरकार कहाँ छ भनेर जनताले दिँउसै बत्ति बालेर सरकार खोज्नुपर्ने परिस्थिति सृजना भएको छ। सरकार बाढी पीडितमा छैन, भूकम्प पीडितमा छैन, सरकार विकास निर्माणमा छैन, सरकार सार्वजनिक सेवा प्रवाहमा पनि छैन, सरकार सहकारी पीडितसँग छैन, मिटरब्याज पीडितसँग पनि छैन र सरकार अन्तर्राष्ट्रिय जनमतमा पनि छैन’, उनले भने, ‘सरकार छ मात्र भ्रष्ट, बिचौलिया, ठग र भूमाफियासँग छ। उनीहरूकै सेवामा तल्लीन छ । उनीहरूकै कुकर्मलाई वैधानिकता दिन अध्यादेश ल्याउन तल्लीन छ।’

Facebook Comments Box