प्रहरीको कर्तव्य र जिम्मेवारी संकुचन नगरी जिम्मेवारी तोक्न जरुरी : महानिरीक्षक कुँवर

काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरा संकुचन नगरी नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताएका छन्।
शनिवार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटनमा उनले यस्तो बताएका हुन्। उनले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी हरेक विषम परिस्थितिहरुमा निष्ठापूर्वक वहन गरेको बताए।
उनले आन्तरिक स्थिति मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता भएको बताए। नागरिक प्रशासनको आधारभूत मान्यता र न्यायका मान्य सिद्धान्तलाई जवाफदेही, जिम्मेवारीयुक्त, व्यावसायिक र सेवामूलक बनाउनुपर्ने बताए।
उनले राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक रहेको उल्लेख गरे।
‘हरेक विषम परिस्थितिहरुमा राज्यका हरेक जिम्मेवारी निष्ठापूर्वक वहन गरेको इतिहास छ। आगामी दिनमा नेपालको संविधान र प्रचलित कानूनको रोहवरमा नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन होइन, राज्यको उपस्थिति र नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक छ‚’ उनले भने, ‘आन्तरिक आदेशको श्रृंखलालाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको झन् टड्कारो आवश्यकता हो। नागरिक प्रशासनको आधारभूत मान्यता र न्यायका मान्य सिद्धान्तलाई केबल जवाफदेही, जिम्मेवारयुक्त, व्यावसायिक र सेवामूलक प्रहरी सेवाको अपेक्षा राख्दछ। राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था हाम्रो आवश्यकता हो।’
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समाज र राष्ट्रको अपरिहार्य संस्था भएको बताए।