कामपामा सरस्वती पूजाका दिन ९७१ जना बालबालिका भर्ना

सेयर गर्नुहोस

काठमाडौँ : काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएको जनाएको छ। माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा निःशुल्क बालबालिका भर्ना भएका हुन्।

महानगरपालिकाका अनुसार यस कक्षामा भर्ना गर्ने क्रम शैक्षिक सत्र २०८२ सुरु हुनु पूर्वसम्म नियमित चलिरहन्छ। यसरी भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन्। महानगरभित्र ८७ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन्।

सबैभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या मावि न्होखामा ६५ जना छात्रा छन्। ज्ञानोदय मावि, बाफलमा ६० जना, जनपथ मावि, कलंकीमा ४२ जना, कुलेश्वर मावि, कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भए।

यस्तै नीलवाराही मावि, टंकेश्वर, सरस्वती निकेतन मावि, ब्रह्मटोल, शीतला मावि, बालाजु हरेकमा ४० र ४० बालबालिका भर्ना भएका छन्।

प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँगको स्कूल टिच प्रोग्रामअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरूको क्षमता लगायत कोणबाट अध्ययन गरेको छ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल विकासका कक्षाहरूको स्तर वृद्धिमा काम भइरहेको छ।

यसअन्तर्गत विद्यार्थीहरूको संख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ। यस्तै शिक्षकहरूलाई २ चरणमा ९६ घण्टे तालिम प्रदान गरिएको छ।

यसपछि बालबालिकाको हेरचाहका लागि आया र इसिडीका अतिरिक्त सहजकर्ता पठाउने तयारी छ।

Facebook Comments Box