बलिदानी दिवसको अवसरमा राजेन्द्र महतो द्वारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण

लहान, माघ ५ ।
बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात-अज्ञात सम्पूर्ण वीर शहीदहरूको सम्झनामा लहानमा रहेको सहिदहरूको सालिकमा राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय अध्यक्ष एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र महतोले माला अर्पण गर्दै सहिद परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरे।
यस अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री महतोले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “मधेशले एकल नश्लीय औपनिवेशिक शोषणविरुद्ध बिद्रोह गरेको हो। तर, उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन। मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेनौं। असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरे।”
महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार, मधेश मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गर्नुपर्छ । “यस प्रणालीमा सम्पूर्ण राष्ट्रविहीन राष्ट्रका जनताले अपनत्व महसुस गर्नेछन्। सबै भाषा र संस्कृतिको सम्मान हुनेछ,” उहाँले भन्नुभयो।
महतोले मधेसी, थारु, पहाडका जनजाति, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिको लागि एकजुट भएर संघर्ष गर्न अपिल गर्नुभयो। उहाँले थप्नुभयो, “सत्ताको लोभले सहिदको सपना पूरा हुँदैन। यो जनतालाई ढाँट्नु बाहेक केही होइन। सहिदहरूको प्रति सच्चा श्रद्धाञ्जलि दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुपर्छ।
कार्यक्रममा सहिद परिवारहरूले सहिदहरूको सम्मानप्रति कृतज्ञता व्यक्त गरेका थिए। बलिदानी दिवसको यो अवसरले मधेशको स्वतन्त्रता र अधिकारप्राप्तिका लागि संघर्षलाई पुनः सशक्त बनाउने सन्देश दिएको छ।