कपिलवस्तुको गणेशपुरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

विजयनगर,कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ७ गणेशपुरस्थित श्री लौटनराम द्रोपती देवी माध्यमिक विद्यालयको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

 

इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजनामा  कार्यक्रम सम्पन्न भएको  हो । कार्यक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय गणेशपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा विजयनगर गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीको विशेष उपस्थिति रहेको थियो।

 

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, मदरसा तथा अन्य धार्मिक संस्थानका प्रतिनिधिहरू, बुद्धिजीवी, सञ्चारकर्मी, आमनागरिक, र स्थानीय सर्वसाधारण गरी करिब ८०-८५ जना सहभागी भएका थिए।

 

कार्यक्रममा नागरिकको समस्या सुनिने र समाधानका उपायहरूमा छलफल गरिने उद्देश्य रहेको थियो। साथै, इलाका प्रहरी कार्यालय गणेशपुरले जनतासँगको समन्वय र विश्वासलाई अझ बलियो बनाउने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरेको हो।

 

कार्यक्रमका क्रममा उपस्थित व्यक्तिहरूले विभिन्न विषयमा आफ्ना विचार र सुझावहरू राखेका थिए। प्रहरी निरीक्षक चन्दले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै शान्ति, सुरक्षा, र समृद्धिको लागि सबैसँग सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो।

 

कार्यक्रमको समापनले स्थानीयस्तरमा जनताको समस्या समाधान र प्रहरी-जनता सम्बन्ध सुधारका लागि नयाँ आयाम थपेको छ।

Facebook Comments Box