एनओसीको निर्वाचन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सेयर गर्नुहोस

काठमाडौं : सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ।

कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। एनओसीको निर्वाचन शनिबार हुने तय थियो।

सोमबार अनलाइनमार्फत मनोनयन दर्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। एनओसीले पटक–पटक अदालतको‌ आदेशको अवज्ञा गर्दै आएको छ।

उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो।

उच्च अदालत पाटनले मंसिर १७ गते विधान संशोधन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो।

सरकारले पनि एनओसीलाई निर्वाचन नगर्न निर्देशन दिएको थियो। त्यसलाई अटेर गरेको एनओसीमा १९ सदस्यीय कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेका छन्।

एक अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन्।

Facebook Comments Box