झापा कपको उपाधि भिडन्त आज

काठमाडौं : झापा कपको फाइनल खेल आज हुँदैछ। झापा कपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) भिड्दै छन्।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौं स्थानको एनआरटीबीचको यो भेट इलाम गोल्डकपपछिको दोस्रो हो। इलाम गोल्डकपको फाइनलमा एनआरटीले चर्च ब्वाइजलाई ३–० ले हराएको थियो । त्यो जित दोहोर्याउने दाउमा एनआरटी देखिन्छ ।
चर्च ब्वाइज भने इलामको हारको बदला लिने योजनामा छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘इलाममा बेहोरेको हारको बदला लिन्छौं ।’
एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्नो टिम सन्तुलित र बलियो रहेको बताउँदै जित निश्चित रहेको बताए।
गत वर्ष फागुनमा सम्पन्न छैटौं झापा गोल्डकपमा चर्च ब्वाइजले बाईमा रहेको एनआरटीलाई पहिलो चरणमै रोकेको थियो । सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज हाबी देखिएको थियो ।
चर्च ब्वाइज ‘बी’ डिभिजन जितेर ‘ए’ डिभिजन च्याम्पियन बनेको ललितपुरे टोली हो भने ९१ वर्षको इतिहास बोकेको एनआरटीले पाँचपटक शीर्ष लिग जितेको छ।
झापा कपका विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख पाउनेछन्।
नेपाल र भारतका १० टिम सहभागी यस प्रतियोगितामा उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीले जनही ३५ हजार नगद पुरस्कार पाउनेछन् ।