जनकपुरले एनपीएल उपाधि जितेपछि मधेसका मुख्यमन्त्रीको प्रतिक्रिया-व्यवसायिक क्रिकेटको सम्भावना बढ्यो

सेयर गर्नुहोस

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताएका छन् । उनले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको समेत उल्लेख गरेका छन् ।

एनपीएलको उपाधि जनकपुर वोल्टस्ले जितेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालका खेलाडी थप तयार छन् भन्ने सन्देश संसारभर पुगेको बताए ।

खेलले एकता, सद्भाव र सहिष्णुताको भावना समेत विकसित गर्ने गरेको उल्लेख गर्दै उनले एनपीएल र यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको प्रतिक्रिया दिए ।
जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीहरूको आत्मवल, प्रतिष्ठा तथा उत्साहमा वृद्धि भएको समेत मुख्यमन्त्री सिंहको भनाइ ।

उनले प्रदेशको धार्मिक तथा सांस्कृतिक शहर जनकपुरधामसँग जोडिएको नाम र प्रदेशवासीकै भाव बनेको जनकपुर बोल्ट्स विजयी हुँदा मधेश प्रदेशका बासिन्दामा रहेको खेलप्रतिको निष्ठा अभिव्यक्त भएको बताए ।

मुख्यमन्त्री सिंहले प्रतियोगिता अवधिभर जनकपुर बोल्ट्सले गरेको उत्कृष्ट र आनन्दायक प्रदर्शनबाट प्रदेशवासीमा अन्तिम खेलसमेत जित्ने विश्वास पलाएको र टोली आफ्नो कुशल रणनीति, उच्च मनोबल र धीरतापूर्ण खेलबाट प्रदेशवासीको भरोसामा खरो उत्रेको उल्लेख गरे ।

मुख्यमन्त्री सिंह जनकपुर बोल्ट्सको हौसला बढाउन काठमाडौँस्थित त्रिवि क्रिकेट मैदान पुगेका थिए । मधेश प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मुख्यमन्त्री सिंहले बताए ।

Facebook Comments Box