माओवादी अब ०६४ कै शक्ति बन्छ : प्रचण्ड

सेयर गर्नुहोस

बुटवल, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब २०६४ सालको जस्तै पहिलो शक्ति बनेर आउने दाबी गरेका छन् । दुई पार्टी एकता तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सिद्धियो भन्नेलाई आउँदो निर्वाचनबाट ०६४ कै अवस्थामा पुर्याएर देखाईदिने उद्घोष गरे ।

प्रचण्डले भने, ‘माओवादी र प्रचण्डपथ सिद्धियो भन्नेहरूलाई आउँदो २०८४ को निर्वाचनबाट देखाइदिने छौं, आउँदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किने छ ।’ उनले थपे, ‘माओवादी सिद्धियो भन्नेहरूलाई उप–चुनावले संकेत देखाइसकेको छ, विगतमा भएका केही त्रुटिलाई आत्मसमिक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी हामी जनतातिर फर्किन्छौ ।’ अहिलेको सरकार अप्राकृतिक र अँध्यारो कोठाबाट बनेको बताउँदै यो सरकारको काम भ्रष्टचारीलाई बचाउने र राम्रो गर्नेलाई सताउने रहेको उनको भनाई थियो ।

विचार, इमानदारमा को राम्रो छ भन्ने कुरा नेपाली जनताले बुझिसकेको भन्दै अहिलेको सत्तारुढ दलका नेताहरु जिल्लामा जाँदा जनताले उनका बिरुद्ध नारा लगाउन थालेको उनको भनाई थियो । पार्टी नयाँ प्रतिवद्धताका साथ जनतामा जाने उनको भनाई थियो ।

आफू प्रधानमन्त्री भएको १८ महिनामा देशको लय गुमाएको अर्थतन्त्रलाई सही मार्गमा ल्याएको प्रचण्डले दाबी गरे । उनले भने, ‘मैले दुई छिमेकी राष्ट्रय भारत र चीनका भ्रमणका क्रममा गरेको निर्णय ऐतिहासिक र दुरगामी छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि माथि पुगेको छ । जनतामा नयाँ आशा र भरोसा पैदा भएको छ ।’

पहिलो पटक प्रधानमन्त्री हुँदा धेरै अनुभव नभए पनि भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी र पुष्पलाल मार्ग आफ्नै पहलमा अघि बढेको उनले बताए ।

कार्यक्रममा जनमुक्ति पार्टी माओवादी केन्द्रमा समाहित भएको घोषणा गरियो । घोषणापछि बोल्दै जनमुक्ति पार्टीका महासचिव राम परियारले प्रचण्ड एक युगपुरुष रहेको भन्दै उहाँको नेतृत्वमा अब देश समाजवादतर्फ उन्मुख हुने बिचार ब्यक्त गरे । माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनालले माओवादीले भ्रष्टाचारबिरुद्धको अभियान थालेकाले सत्ताबाट हट्नुपरेको बताउँदै अब जनताको साथ लिएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरे ।

माओवादी केन्द्र रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा माओवादी नेताहरु तिलक परियार, सोनिया यादव, जिल्ला संयोजक निर्मल जिसी लगायतले धारणा राख्दै माओवादी केन्द्रले आगामी चुनावमा सहज जित हासिल गर्ने विश्वास ब्यक्त गरे ।

Facebook Comments Box