मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसर बनौँ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताएका छन्।
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले न्यायपूर्ण, समतामूलक समाज निर्माण गर्न विश्वको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले समेत सामाजिक न्यायको दिशामा अग्रसरता लिनुपर्ने बताएका हुन्
राष्ट्रपति पौडेलले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार रहेको धारणा राखेका छन्। उनले वञ्चितीकरणमा परेका समुदाय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हक, अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन सकेमा मात्र मानव अधिकार दिवसले सार्थकता पाउने बताएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै अधिकार संरक्षण हुन नसकेको गुनासो रहेको समुदायको समस्या पहिचान गर्नु मुख्य दायित्व र कर्तव्य भएको बताएका छन्। उनको शुभकामना सन्देशमा सबैको अधिकार क्षेत्रलाई थप फराकिलो बनाउन सके देशको समृद्धि र विकासमा अधिकार सम्पन्न नागरिकमार्फत टेवा र योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।