बहादुरगन्जमा राघबेन्द्र गौरव बहुमुखी क्याम्पस सञ्चालन, आजबाट अध्यापन सुरु

सेयर गर्नुहोस

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उच्च शिक्षाको अवसर प्रदान गर्न बहादुरगन्जस्थित राघबेन्द्र गौरव बहुमुखी क्याम्पसले आजदेखि औपचारिक रूपमा अध्ययन अध्यापन सुरु गरेको छ । क्याम्पसको स्थापनाले यस क्षेत्रका विद्यार्थीहरूलाई आफ्नो घरमै उच्च शिक्षा हासिल गर्ने अवसर मिलेको छ ।

क्याम्पस कक्षा उद्घाटनका क्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख तथा क्याम्पसका संरक्षक रजत प्रताप शाहले यस क्षेत्रका विद्यार्थीहरूका लागि उच्च शिक्षाको पहुँच अभिवृद्धि गर्न क्याम्पसको स्थापनाले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले क्याम्पस सञ्चालनसँगै विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको र यसले सामाजिक, आर्थिक रूपमा पनि परिवारलाई सहज हुने धारणा व्यक्त गर्नुभयो ।

क्याम्पसका अध्यक्ष वैभव प्रताप शाहले क्याम्पस स्थापना स्थानीयको लामो समयदेखिको चाहना पूरा गर्ने लक्ष्यका साथ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कृष्णनगर र यस आसपासका क्षेत्रका विद्यार्थीहरूले अब अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । क्याम्पसलाई गुणस्तरीय र समावेशी बनाउन हामी प्रतिबद्ध छौं । आगामी दिनमा विविध संकाय र कार्यक्रम थप्दै शिक्षाको पहुँचलाई अझ विस्तार गर्ने योजना छ ।”

क्याम्पसका प्रमुख मान बहादुर दर्जीले क्याम्पसले प्रारम्भिक चरणमा सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शिक्षा शास्त्र संकायअन्तर्गत नेपाली, अंग्रेजी, र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको पठनपाठन सुरु गरेको जानकारी दिनुभयो । क्याम्पस प्रमुख मान बहादुरका अनुसार हालसम्म क्याम्पसमा ४५ जना विद्यार्थीले भर्ना लिइसकेका छन् ।

स्थानीय नागरिकहरूको लामो समयदेखिको चाहना अनुसार सञ्चालनमा आएको यस क्याम्पसले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षामा सहज पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ ।

क्याम्पस सञ्चालनका लागि नगरपालिकाको सक्रियता र स्थानीय जनताको सहयोग उल्लेखनीय रहेको छ ।

उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरूले क्याम्पसले यस क्षेत्रको शैक्षिकस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

क्याम्पसको सुरुवातसँगै कृष्णनगर क्षेत्रका नागरिकहरूमा उत्साह र खुसी छाएको छ । अब विद्यार्थीहरूलाई आफ्नो क्षेत्रमा नै उच्च शिक्षा हासिल गर्ने अवसर मिल्ने भएकाले यसले शिक्षामा आउने चुनौती समाधान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box